उभौलीको अवसरमा ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

भिजन समाचार
82
Shares

ओखलढुंगाका किरात राईहरुले उभौली चाडकाे अवसरमा साकेला सिली र हङ सिली प्रदर्शन गरेका छन् । किरात राई यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजना तथा किरात राई बायुङ सुम्निखिमको सह–आयोजनामा शनिबार उभौली चाड तथा यलदोङ ५०८५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै नृत्य प्रदर्शन गरिएको हो ।

यायोक्खा जिल्ला कार्यसमितिका संस्थापक अध्यक्ष बुद्धिकुमार राईको प्रमुख आतिथ्यता तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा किराँत राईहरुको मौलिक नृत्य प्रस्तुत गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्ष राईले भाषा, संस्कार र सँस्कृति जोगाइराख्न तथा पुस्तान्तरण गर्न यस प्रकारका कार्यक्रम महत्वपुर्ण हुने बताए । 

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले सबै जातजाति भाषा धर्म संस्कृतिको विकास र प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरिरहेको बताउँदै यायोक्खालाई नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाए ।

किरात सभ्यताको सम्मान, मौलिक कला र संस्कृतिको संरक्षणका लागि हरेक बर्ष यस किसिमका कार्यक्रम गर्ने गरिएको आयोजक यायोक्खा जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले बताए । 

किरात राईहरुले बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई उभौली भन्दछन् भने बाली तयार भएपछि बाली घर भित्राइने यामलाई उधौली भन्ने गर्दछन्। यी दुवै याममा, किराँत समुदायले प्रकृतिको पूजा–आजा गरी यी पर्वहरू मनाउने गर्दछन्।

कार्यक्रममा नगर प्रमुख खनाल, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्राचन राई, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराई, यायोक्खाका पदाधिकारी, किरात राई बायुङ सुम्निखिमका पदाधिकारी, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।

जिल्लामा बायुङ, वाम्बुले, थुलुङ र जेरो राईहरुको बसोबास छ । बायुङ राईले हङ सिली, थुलुङ राईले सेग्रो, वाम्बुले राईले खाउमो सिली र जेरो राईहरुले नुल नाच्ने चलन रहेको किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव ताराहाङ राईले बताएका छन् ।