मानेभन्ज्याङका ४१ कृषकलाई मौरी पालन तालिम र घार

भिजन समाचार
22
Shares

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाले कृषकहरुलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले पालिकाको सबै वडाबाट छनोट भएका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी सहितको घार प्रदान गरेको हो ।

२५ जना परम्परागत मौरीपालन गरिरहेका, १० जना नयाँ कृषक र छ जना अपांगता परिवारका गरि ४१ जनालाई एक सातासम्म मौरीपालनबारे तालिम दिएर घार वितरण गरिएको कृषि शाखा प्रमुख सन्तोष थापाले बताए ।

बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले कृषकहरुलाई मौरी र घार वितरण गर्दै व्यवसायीक मौरीपालन र कृषि गर्ने कृषकलाई पालिकाले आगामी दिनमा पनि प्रोत्साहनका कार्यक्रम ल्याउने बताए । आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमिकता दिएर बजेट ल्याउने पनि उनको प्रतिवद्धता थियो ।

गाउँपालिका विनियोजन गरेको चार लाख बजेटबाट कृषकहरुलाई तालिम र अनुदानमा मौरी सहितको घार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । महबाट राम्रो आयआर्जन हुने भएकाले कृषकहरुको जिविकोपार्जन सुधारका लागि मौरी र घार प्रदान गरिएको हो ।

उत्पादन भएको मह बजारीकरणका लागि व्यवस्थापन भएकाले कुनै समस्या नरहने गाउँपालिका कृषि शाखाले जनाएको छ ।