ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–७ बिगुटार घुन्सा मा ५५ घरधुरी र एक विद्यालयमा स्वच्छ तथा सुरक्षित खानेपानी सेवा विस्तार गरिएको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र सिद्धिचरण नगरपालिका को साझेदारीमा ३५ लाख ७४ हजार ४१६ रुपैयाँ लागतमा निर्माण गरिएको घुन्सा खानेपानी, स्वास्थ्य तथा सरसफाइ आयोजना सम्पन्न भएको हो ।
वडा अध्यक्ष भलबहादुर कटवालका अनुसार आयोजनामार्फत वडा नम्बर ७ का ५५ घरधुरी र एक विद्यालय गरी ५६ उपभोक्ताले स्वच्छ खानेपानी सेवा पाएका छन् । आयोजनामा स्थानीय उपभोक्ताले जनश्रमदान समेत गरेका थिए ।
ठाडेको रातोपानी मुहानबाट करिब चार हजार दुई सय मिटर दूरीबाट पानी ल्याई १० हजार ५७५ मिटर पाइपलाइन विस्तार गरिएको छ । खानेपानी भण्डारण तथा वितरणका लागि दुई वटा इन्टेक र १० वटा ट्याङ्की निर्माण गरिएको छ भने ५५ घरधुरी र विद्यालयमा गरी ५६ वटा धारा जडान गरी सञ्चालनमा ल्याइएको छ ।
आयोजनाबाट विद्यालयका ६५ विद्यार्थी सहित कुल २९७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । नगर प्रमुख तेजन खनालका अनुसार स्वच्छ खानेपानीको पहुँच विस्तारसँगै स्थानीयको जनस्वास्थ्यमा सुधार आउनुका साथै दैनिक जीवन थप सहज र गुणस्तरीय बन्ने विश्वास व्यक्त छ ।
नगर प्रमुख खनालले आयोजनाको उद्घाटन गर्दै आगामी दिनमा पनि नागरिकको आवश्यकता अनुसार विकासका योजना अघि बढाइने बताए । यसअघि व्यवस्थित धारा र इन्टेक ट्याङ्की अभावका कारण नियमित तथा सुरक्षित खानेपानी आपूर्तिमा समस्या हुँदै आएकोमा अब सहज भएको भन्दै स्थानीयवासी हर्षित भएका छन् ।

प्रतिक्रिया