सिद्धिचरण नगरका विद्यालयहरूमा हप्ताको दुई दिन बिदा गर्न निर्देशन

भिजन समाचार
192
Shares

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र २२ गतेको बैठकले शैक्षिक सत्र २०८३ मा देशका सम्पूर्ण शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई थप व्यवस्थित र एकरूपता कायम गर्न सिद्धिचरण नगरपालिकाले पनि आफ्नो नगर क्षेत्रभित्र यसलाई अनिवार्य लागू गराउने कदम चालेको हो ।

नगर कार्यपालिकाको मिति २०८३ जेठ ६ गते बसेको बैठकको निर्णयानुसार अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यन्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत भिस्मराज भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

नगरपालिकाले उक्त निर्णयलाई पूर्ण रूपमा पालना गर्न नगर क्षेत्रभित्रका सबै विद्यालयहरूलाई आग्रह गरेको छ । संस्थागत विद्यालयले सरकारको निर्णय कार्यान्वयन गर्न आनाकानी गरे पछि यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।