पोषणका नाममा वृद्धवृद्धालाई हर्लिक्स वितरण


ओखलढुंगा । सिद्धिचरण नगरपालिका–१२ मा ज्येष्ठ नागरिकहरूलाई पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ । ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रको आयोजना तथा कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा ८० भन्दा बढी ज्येष्ठ नागरिकलाई पोषणका नाममा हर्लिक्स वितरण गरिएको हो ।

कार्यक्रममा ज्येष्ठ नागरिकको अधिकार, मानसिक स्वास्थ्य तथा योग अभ्यास सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास र अनुभवका स्रोत भएकाले उनीहरूको स्वास्थ्य र हेरचाहका लागि सरकारले व्यावहारिक नीति ल्याउनुपर्ने बताए ।

त्यस्तै, सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले नगरपालिका ज्येष्ठ नागरिकको हकअधिकार र सुरक्षाका क्षेत्रमा निरन्तर सक्रिय रहेको दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईले ज्येष्ठ नागरिक सेवालाई सरल र प्रभावकारी बनाइने बताएका छन् । वडाअध्यक्ष उमंग श्रेष्ठले ज्येष्ठ नागरिकमैत्री सेवा र सम्मान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । ज्येष्ठ नागरिक सम्मानका लागि एक लाख बजेट व्यवस्था गरिएको उनको भनाई छ ।

नगरपालिकाका निवर्तमान प्रमुख मोहन कुमार श्रेष्ठले आफू नेतृत्वमा सुरु गरिएका ज्येष्ठ नागरिक लक्षित कार्यक्रमले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले वृद्धाअवस्थामा हुने एक्लोपन कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

केन्द्रका अध्यक्ष ध्रुवकुमार राजभण्डारीका अनुसार कोशी प्रदेश सरकारबाट प्राप्त तीन लाख रुपैयाँ बजेटमध्ये केही रकमबाट ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको र बाँकी करिब ७० हजार रकम स्वास्थ्य तथा सरसफाइ सामग्री वितरणमा खर्च गरिएको हो ।

सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुङ्गाको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसमेत गरिएको थियो ।

पोषणको नाममा बजारिया उत्पादनमाथि प्रश्न

ज्येष्ठ नागरिकको स्वास्थ्य र पोषणका लागि राज्यले कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भए पनि पोषणको नाममा बजारमा पाइने हर्लिक्स वितरण गरिएको विषयलाई लिएर जनस्वास्थ्य क्षेत्रका जानकारहरूले प्रश्न उठाएका छन् ।

यस्ता प्रशोधित खाद्ध पदार्थमा थपिएको चिनीको मात्रा उच्च हुन सक्छ । वृद्धावस्थामा धेरैजसो नागरिक मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी समस्याबाट प्रभावित हुने भएकाले अत्यधिक गुलियो प्रकृतिका उत्पादनले स्वास्थ्यमा थप जोखिम निम्त्याउन सक्ने उनीहरूको भनाइ छ ।

कृत्रिम तथा आयातित खाद्य पूरकभन्दा स्थानीय रूपमा उत्पादन हुने रैथाने खाद्यान्न ज्येष्ठ नागरिकका लागि बढी उपयुक्त हुने बताएका छन् । ओखलढुंगाजस्ताे पहाडी क्षेत्रमा पाइने कोदो, फापर, जौ, मकै तथा गेडागुडीबाट तयार गरिने पोषिलो लिटो, स्थानीय मह बढी उपयोगी र स्वास्थ्यकर विकल्प हुन सक्छ ।