लिखु–४ जलविद्युत् आयोजनाले खिजीदेम्बामा खर्च गरेको २ करोड ५१ लाखमाथि प्रश्न

भिजन समाचार
410
Shares

ओखलढुंगा । ग्रिन भेन्चर्स लिमिटेड द्वारा निर्माण गरिएको लिखु–४ जलविद्युत् आयोजनाले खिजीदेम्बा गाउँपालिकामा सामाजिक काम र वातावरणीय असर न्यूनीकरणका नाममा खर्च गरेको २ करोड ५१ लाख ६३ हजार ९१० रुपैयाँमाथि प्रश्न उठेको छ ।

गाउँपालिकाले स्थानीय गुनासा र कम्पनीले गरेका प्रतिबद्धताबारे स्पष्ट जवाफ मागेपछि आयोजनाले २०८३ जेठ ७ गते खर्चको विस्तृत विवरण बुझाएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीधर खनालले हस्ताक्षर गरेर गाउँपालिकालाई प्रतिवेदन पठाएका हुन् ।

प्रतिवेदन अनुसार वडा नं. १, २ र ३ मा गरी २ करोड ९ लाख ८२ हजार ४१७ रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये विभिन्न चरणमा २ करोड १५ लाख ५४ हजार ७४८ रुपैयाँ खर्च गरिएको उल्लेख छ । गाउँपालिका मार्फत गरिएको थप ३ लाख २५ हजार रुपैयाँ जोड्दा कुल खर्च २ करोड ५१ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अधिकांश रकम वडा अध्यक्षको सिफारिस र उपभोक्ता समितिको मागका आधारमा चेकमार्फत भुक्तानी गरिएको हो । वडा नं. १ मा मात्रै ८४ लाख ९८ हजार ९३३ रुपैयाँ खर्च भएको देखाइएको छ । ग्रामीण विद्युतीकरणका लागि २१ लाख ४४ हजार ९६० रुपैयाँ, खेल मैदान निर्माणका लागि १५ लाख रुपैयाँ, एम्बुलेन्स खरिदका लागि ६ लाख रुपैयाँ तथा विद्यालयहरूमा शिक्षक तलब, खेलकुद सामग्री र मर्मतका लागि रकम दिइएको उल्लेख छ ।

वडा नं. २ मा ४४ लाख १३९ रुपैयाँ खर्च गरिएको कम्पनीले जनाएको छ । फेताले–धाप–नास्पु सडक निर्माणका लागि २५ लाख रुपैयाँ र ग्रामीण विद्युतीकरणका लागि १५ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

सबैभन्दा बढी खर्च वडा नं. ३ मा भएको देखिन्छ । यहाँ ८६ लाख ५५ हजार ६७६ रुपैयाँ खर्च गरिएको कम्पनीको विवरणमा उल्लेख छ । खेल मैदान निर्माणका लागि ३० लाख रुपैयाँ, खिस्री खोला लघु जलविद्युत् मर्मतका लागि १३ लाख ५७ हजार रुपैयाँभन्दा बढी तथा सार्वजनिक सभाहल निर्माणका लागि १५ लाख रुपैयाँ खर्च गरिएको छ ।

गाउँपालिकाको सिफारिसमा खिजीफलाटे प्रवेशद्वार निर्माणका लागि पनि ३ लाख २५ हजार रुपैयाँ खर्च गरिएको कम्पनीले जनाएको छ ।

तर स्थानीयले भने कम्पनीले वास्तविक समस्या समाधान नगरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार कम्पनीले पहिले गरेको सहमति अनुसार सडक कालोपत्रे नगरेको, सुरुङ निर्माणपछि पानीका मुहान सुकाएको, वर्षेनी सडक बिग्रँदा स्थानीयले क्षति भोग्नुपरेको तथा नदीमा पर्याप्त पानी नछोडिएको आरोप छ ।

कम्पनीले भने सडक कालोपत्रे गर्ने कुनै औपचारिक सम्झौता नभएको जनाएको छ । सुरुङ र सडक निर्माणका कारण भएको क्षतिको क्षतिपूर्ति सम्बन्धित समितिको सिफारिसमा वितरण गरिसकिएको र थप दाबी नगर्ने सहमति भएको कम्पनीको भनाइ छ ।

त्यस्तै वातावरणीय मापदण्ड अनुसार नदीमा १० प्रतिशत पानी छोडिएको, खानेपानी समस्या समाधानका लागि बजेट छुट्याइएको तथा ११ केभी लाइनमार्फत सिधै विद्युत् वितरण गर्न कानुनी समस्या रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर वितरण गरिसकेको र सरकारलाई नियमित रोयल्टी बुझाउँदै आएको दाबी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट २०६८ फागुन २८ गते अनुमति पाएको लिखु–४ आयोजना २०७८ कात्तिक २१ गतेदेखि सञ्चालनमा आएको हो । गाउँपालिकाले स्थानीय शेयर, राजस्व, रोजगारी, समन्वय, क्षतिपूर्ति तथा सम्बन्धी विषयमा कम्पनीसँग लिखित जवाफ मागेको थियो ।

स्थानीय सन्तोष खड्काले कम्पनीले खर्च विवरण सार्वजनिक गरे पनि सामाजिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा नभएको भन्दै स्थानीय अझै असन्तुष्ट रहेको बताए । कम्पनीले उपलब्ध गराएको बजेटको उपयोगिताका विषयमा प्रश्न उठ्न थालेको छ ।