ओखलढुंगा । सुनकोशी गाउँपालिकामा कक्षा ८ को वार्षिक परीक्षाको नियमित र पुरक परीक्षाको नतिजाबीच अस्वाभाविक अन्तर देखिएपछि यसले गाउँपालिकाको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
नियमित परीक्षाको नतिजा सार्वजनिक भएको करिब एक महिनापछि भएको पुरक परीक्षामा विद्यार्थीहरूको नतिजामा व्यापक सुधार देखिएको हो । नियमित परीक्षामा कुल ३१९ जना विद्यार्थीमध्ये १५५ जना अनुत्तीर्ण (नन्–ग्रेडेड) भएका थिए भने १२ जना अनुपस्थित थिए । तर पुरक परीक्षामा भने १४१ जना उत्तीर्ण भएका छन् र जम्मा १० जना मात्र अनुत्तीर्ण भएका छन् ।
नियमित परीक्षाको नतिजा अत्यन्त भयावह थियो । योगिस्थान आधारभूत विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण भएका थिएनन् भने पुरक परीक्षामा उक्त विद्यालयका ८ मध्ये ६ जना उत्तीर्ण भएका छन् ।
नियमित परीक्षामा सामान्य नतिजा ल्याएका विद्यालयहरू पनि पुरक परीक्षामा भने शतप्रतिशत उत्तीर्ण भएका छन् । बलखु माध्यमिक विद्यालय (सुनकोशी–१), सुनकोशी मावि (सुनकोशी–२), आरुभन्ज्याङ मावि (सुनकोशी–२), कालिका मावि (सुनकोशी–३), पाटनदेवी आधारभूत विद्यालय (सुनकोशी–६), प्रबुद्ध मावि (सुनकोशी–७), जगतजननी मावि (सुनकोशी–८), कालिका मावि (सुनकोशी–९), कटुन्जे मावि (सुनकोशी–९) र चम्पादेवी आधारभूत विद्यालय (सुनकोशी–९) का विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । अन्य विद्यालयहरूले पनि पुरक परीक्षामा नतिजा सुधारेका छन् । पालिकाका माध्यमिक र आधारभूत तह (कक्षा-८) का १६ वटा विद्यालय सामेल थिए ।
नियमित परीक्षामा गाउँपालिका स्तरीय अनुगमन भएको थियो । परीक्षा कडा भएकै कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएको सरोकारवालाहरूले बताएका थिए । शिक्षा शाखा प्रमुख विवेक तामाङले पुरक परीक्षा केही खुकुलो भएको र विद्यार्थी तथा विद्यालयले तयारीमा जोड दिएकाले नतिजामा सुधार आएको बताएका छन् । तर उनले अध्यक्ष कपको तयारीले गर्दा परीक्षाको अनुगमन गर्न नभ्याइएको स्वीकार गरे । साथै, साधारण अंक नपुगेका विद्यार्थीलाई ग्रेस दिएर उत्तीर्ण गरिएको पनि तामाङले जानकारी दिए ।
शैक्षिक अवस्था कमजोर देखिएकोले समीक्षा गरी सुधारका लागि पहल भइरहेको उनको भनाइ छ । यस नतिजाले सुनकोशी गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभूत र माध्यमिक शिक्षाको सम्पूर्ण व्यवस्थापन, शिक्षकको तलब व्यवस्थापन, विद्यालय अनुगमन र शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य जिम्मेवारी स्थानीय तहको हो ।

प्रतिक्रिया