चिशंखुगढी आधारभूत अस्पताल बन्द हुने अवस्थामा

पाँच शैयाकाे आधारभूत अस्पताल।

ओखलढुंगा । चिशंखुगढी गाउँपालिकामा सञ्चालनमा रहेको चिशंखुगढी आधारभूत अस्पताल आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । दुई वर्षअघि सञ्चालनमा आएको अस्पताल गाउँपालिकाले सीमित स्रोत–साधनका बीच जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गर्दै आए पनि दीर्घकालीन सञ्चालन भने संकटमा परेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थिरप्रसाद भट्टराईका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक बजेट अभाव हुँदा सेवा निरन्तरतामै समस्या देखिएको छ । संघीय सरकारसँग विशेष अनुदानमार्फत जनशक्ति व्यवस्थापनको माग गरिए पनि हालसम्म कुनै ठोस सम्बोधन नभएको उनले बताए ।

“संघीय सरकारले भवन त बनाइदियो, तर सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराएन,” भट्टराईले भने, “पालिकाको आन्तरिक स्रोतले मात्र अस्पताल धान्न कठिन भइरहेको छ ।”

गाउँपालिकाले ‘आधारभूत अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८०’ निर्माण गरी ११ जना जनशक्तिको व्यवस्था गर्ने जनाएको छ । हाल पालिकाको स्रोतबाट एक जना डाक्टर, दुईजना स्टाफ नर्स, रेडियोग्राफर र ल्याब टेक्निसियन करारमा नियुक्त गरिएको छ । साथै पोखरे स्वास्थ्य चौकीका कर्मचारीलाई समेत अस्पतालमा समायोजन गरेर १० जना जनशक्ति परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अस्पतालमा करारका कर्मचारीका लागि करिब वार्षिक ५० लाख खर्च हुनेगरेको छ । अस्पताल बाट दैनिक ३५-४० जनाले विभिन्न सेवा लिन्छन् ।

गाउँपालिका अध्यक्ष निशान्त शर्माले संघीय सरकारले जनशक्ति व्यवस्थापन तथा आवश्यक अनुदान नदिए अस्पताल सञ्चालन गर्न कठिन हुने बताए । उनले स्थानीय तहको आन्तरिक स्रोतको अवस्था मूल्यांकन गरेर अनुदान वितरण गर्न संघ सरकारसँग माग गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका ३९२ स्थानीय तहमा एकै दिन ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने मौलिक हक सुनिश्चित गरेको छ ।

सोही संवैधानिक व्यवस्था कार्यान्वयन गर्न ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ अन्तर्गत ‘आधारभूत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका, २०७७’ जारी गरी देशभर अस्पताल निर्माण अभियान अघि बढाइएको थियो । तर भवन निर्माण भए पनि पर्याप्त जनशक्ति, उपकरण र सञ्चालन बजेट अभावका कारण धेरै स्थानीय तहमा अस्पताल सञ्चालन चुनौतीपूर्ण बन्दै गएको छ ।