फलाटेको सार्वजनिक जग्गामा बनाइएका घर–टहरा भत्काइयो

भिजन समाचार
338
Shares

ओखलढुंगा । सुनकोशी गाउँपालिकाले फलाटे क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरा भत्काउने अभियान सुरु गरिएको छ ।

गाउँपालिकाले यसअघि नै ७ दिनको म्याद दिँदै अतिक्रमित संरचना आफैं हटाउन निर्देशन दिएको थियो । तर, तोकिएको समयसीमा भित्र अटेर गरिएपछि मंगलबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको हो ।

गाउँपालिकाका सूचना अधिकारी ददिप भट्टराईका अनुसार पहिलो चरणमा वडा नम्बर ५ को फलाटेभन्ज्याङ क्षेत्रमा रहेका अवैध संरचनाहरू हटाइएको छ । मंगलबार मात्रै हर्कबहादुर खत्री, तिलकबहादुर खत्री र रमेश खत्री लगायतका व्यक्तिहरूले बनाएका दुई वटा घर र दुई वटा टहरा भत्काइएको उनले जानकारी दिए ।

उनका अनुसार ती संरचनाहरू विगत करिब १२ वर्षअघि सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका थिए । विगतमा पटक–पटक सूचना जारी गर्दै हटाउन आग्रह गरिए पनि अटेर गरिएपछि बाध्य भएर डोजर प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष कमल तामाङले फलाटे बजारलाई व्यवस्थित र सुन्दर बनाउन अतिक्रमित संरचना हटाउने अभियान सुरु गरिएको बताए । आगामी दिनमा थप अध्ययन गरी अन्य स्थानमा रहेका यस्ता संरचनामाथि पनि कारबाही गरिने उनले स्पष्ट पारे ।

गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ । आगामी दिनमा थप सूचना जारी गर्दै अन्य वडाका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने तयारी गरिएको छ ।