सिद्धिचरणका ५५ युवालाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

भिजन समाचार
274
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले ५५ जना युवालाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी तालिम सञ्चालन गरेको छ । शनिबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ४५ दिने तयारी कक्षाको औपचारिक उद्घाटन गरिएको हो ।

नगरपालिकाका १२ वटै वडाबाट छनोट गरिएका सहभागीहरू तालिममा समावेश भएका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपमेयर केदारबाबु बस्नेतले लक्षित वर्गलाई सरकारी सेवातर्फ आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउँदै सहभागीहरूलाई अवसरको भरपुर उपयोग गर्न आग्रह गरे ।

तालिममा लोकसेवा आयोगको परीक्षाका लागि आवश्यक तयारी विधि, परीक्षा प्रणाली, सम्भावित प्रश्नहरूको विश्लेषण तथा प्रभावकारी लेखन सीप सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सरिता तामाङले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फणिन्द्र बहादुर कट्वाल, लोकसेवा सारथी प्रालिका प्रतिनिधि महेश घिमिरेलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै वक्ताहरूले तालिमले प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाको यो पहलले स्थानीय युवाहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउँदै सरकारी सेवामा प्रवेशका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।