१०७ जनाको मोतीबिन्दु शल्यक्रिया

भिजन समाचार
76
Shares

ओखलढुंगा । जिल्लाका १०७ जनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ । विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको निःशुल्क छनोट शिविरबाट पहिचान भएका तथा केन्द्रमा आएका बिरामीहरूको शल्यक्रिया गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको संयुक्त आयोजनामा चिशंखुगढी गाउँपालिका, सिद्धिचरण नगरपालिका लगायतका क्षेत्रका साथै सोलुखुम्बुका बिरामीहरूको उपचार गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले जानकारी दिइन् ।

उनका अनुसार सोमबार र मंगलबार दुई दिनमा फ्याको प्रविधिबाट ८३ जना र एसआइसिएस प्रविधिबाट २४ जनाको शल्यक्रिया गरिएको हो । फ्याको प्रविधिमा सहुलियत शुल्कमा तथा एसआइसिएस प्रविधिमा निःशुल्क रूपमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक टोलीद्वारा शल्यक्रिया गरिएको उनले बताइन् ।

तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ र आधुनिक प्रविधिबाट जिल्लामै शल्यक्रिया हुने व्यवस्था भएपछि पछिल्लो समय फ्याको प्रविधिबाट शल्यक्रिया गराउने बिरामीको संख्या बढ्दै गएको केन्द्रले जनाएको छ ।

मोतीबिन्दु अन्धोपनाको प्रमुख कारण भएकाले समय–समयमा निःशुल्क छनोट तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको केन्द्रले जनाएको छ ।