ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धवार्षिक समिक्षा गरिएको छ । समिक्षा कार्यक्रममा सरोकारवालाले अपांगता रोकथाम र न्यूनिकरणका लागि सञ्चालन भइरहेका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङले चालु आर्थिक वर्षमा भएका काम, उपलब्धि र प्रगतिको विवरण प्रस्तुत गर्दै अपांगता भएका व्यक्तिको खोजी–पहिचान, परिचयपत्र वितरण, जीवनोपयोगी तालिम, सहायक सामग्री वितरण तथा अपांगता मैत्री भौतिक संरचना निर्माणका काम भइरहेको जानकारी दिइन् ।
त्यसैगरी, गर्भावस्थापछि फोलिक एसिड वितरण, १० वर्षमुनिका बालबालिकाको स्वास्थ्य परीक्षण र दुर्घटनाबाट हुने अपांगता न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए ।
कार्यक्रममा करुणा फाउन्डेशनका बरिष्ठ कार्यक्रम अधिकृत संयोग खतिवडा, सिबिआइडी टिम लिडर सुरेश मगर, कार्यक्रम संयोजक तुलाराम कार्की तथा बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईले पनि आफ्नो काम र उपलब्धिहरू प्रस्तुत गर्दै सुझाव र जानकारी दिएका थिए ।
नगर प्रमुख तेजन खनालले नगरपालिकाले नीति, बजेट र कार्यक्रममार्फत अपांगता रोकथाममा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उपप्रमुख केदारबाबु बस्नेतले परियोजना समाप्त भएपश्चात पनि सरोकारवालासँग मिलेर कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईले अपांगता सम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक पहल गरिने र बाँकी विषयमा प्रदेश तथा संघ सरकारसँग समन्वय गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया