प्रजनन स्वास्थ्य र सशक्तिकरणबारे प्रशिक्षण

भिजन समाचार
28
Shares

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–४ मा छात्रा तथा महिलालाई लक्षित गरी क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत छात्रा र महिलालाई फरक–फरक चरणमा तालिम प्रदान गरिएको हो ।

जीवन प्रदीप माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७, ८ र ९ का ३१ जना छात्रालाई चैत्र १९ र २० गते प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षासम्बन्धी तालिम दिइएको वडा अध्यक्ष भोलाराज राईले जानकारी दिए । उनका अनुसार किशोरीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै आफ्नो अधिकारबारे जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

यसैगरी, सोही वडाका २८ जना महिलालाई चैत्र २१ र २२ गते महिला सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तालिममार्फत महिलाहरूको नेतृत्व क्षमता, आत्मविश्वास तथा सामाजिक सहभागिता वृद्धि गर्ने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले करिब १ लाख २० हजार रुपैयाँ बजेटमा सञ्चालन गरेको उक्त कार्यक्रमबाट स्थानीय स्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । वडा अध्यक्ष राईले यस्ता कार्यक्रमले महिला तथा किशोरीहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।