ओखलढुंगाका सात पालिका पूर्ण खोप सुनिश्चित, मोलुङ बाँकी


ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकालाई जिल्लाको सातौँ पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।

‘पूर्ण खोप सुरक्षित भविष्य, स्थानीय स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले यो घोषणा गरेको हो ।

नगरपालिकाका सबै वडामा खोप पाउने उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप पाइसकेपछि, नगर प्रमुख तेजन खनाल, प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराई, र उप–प्रमुख केदारबाबु बस्नेतको समर्थनमा यस घोषणा गरिएको हो ।

नगर प्रमुख खनालले स्वास्थ्य क्षेत्रमा काम गर्ने अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिंदै, नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुम्जाटारकी खोप फोकल पर्सन उमा गुरुङले खोपको महत्व र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रक्रिया बारे जानकारी गराइन् । उनका अनुसार, जिल्लामा सबैभन्दा पहिले चम्पादेवी गाउँपालिका पूर्ण खोप पालिका घोषित भएको थियो र सिद्धिचरण नगरपालिका सातौँ नम्बरमा घोषणा भएको हो ।

यस अघि सुनकोशी, मानेभञ्ज्याङ, चिशंखुगढी, लिखु, खिजीदेम्बा र चम्पादेवी गाउँपालिका पूर्ण खोप पालिका भइसकेका छन् । बाँकी मोलुङ गाउँपालिका पनि पूर्ण खोप सम्पन्न भएपछि, यस वर्ष जिल्लाभर पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा हुने छ ।

नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक आइत बहादुर राईका अनुसार, १६–५९ महिनाका १ हजार तीन बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप पाइसकेका छन् भने जन्मदेखि १५ महिनासम्मका २७० बालबालिकाले उमेर अनुसारको नियमित खोप पाइरहेका छन् ।

पूर्ण खोप पालिका घोषणाको क्रममा पालिकाका सबै वडालाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

यस घोषणाले सुरक्षित बालबालिकाको भविष्य सुनिश्चित गर्दै, जिल्लामा खोप अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।