ओखलढुंगा । स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाभर आर्थिक वर्ष २०७९/०८० मा २,०२८ जना बिरामी थिए भने आर्थिक वर्ष २०८०/०८१ मा संख्या ३,७५५ पुगेको थियो । त्यसपछि २०८१/०८२ मा यो संख्या ४,६१६ पुगेर लगातार वृद्धि दर देखाएको छ ।
स्थानीय तहगत विवरणमा पनि अधिकांश पालिकामा बिरामीको संख्या बढेको देखिन्छ । सिद्धिचरण नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २४७ जना बिरामी थिए, जुन २०८१/०८२ मा १,४४४ पुगेको छ । मोलुङमा १२४ बाट ६२३, चिशंखुगढीमा १४३ बाट १७९, खिजिदेम्बामा १४० बाट २६७, लिखुमा ४९९ बाट २१४, चम्पादेवीमा ८२७ बाट १,३१८, सुनकोशीमा ७ बाट १५६ र मानेभञ्ज्याङमा ४१ बाट ४१५ पुगेको देखिन्छ । यसले जिल्लाभर नसर्ने रोगको जोखिम बढ्दो अवस्थामा रहेको पुष्टि गर्दछ ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार, अस्वस्थकर खानपान, अव्यवस्थित जीवनशैली र शारीरिक निष्क्रियताका कारण मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मोटोपना र क्यान्सरजस्ता रोगको जोखिम बढ्दो छ ।
कार्यालयले समयमै रोग पहिचान र नियन्त्रणका लागि जिल्लाभर ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरिरहेको छ । स्वास्थ्यकर्मीहरूले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सर्वसाधारणलाई जोड दिएका छन् ।

प्रतिक्रिया