सुनकोशीकाे कटुञ्जेमा निःशुल्क पशु स्वास्थ्य शिविर


ओखलढुंगाको कटुञ्जे क्षेत्रमा सञ्चालन गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरले ग्रामीण पशुपालन व्यवसायमा नयाँ आशा जगाएको छ । सुनकोशी गाउँपालिका–९ र १० अन्तर्गत कटुञ्जेमा आयोजित शिविरबाट १२७ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाको आयोजना र सुनकाेशी गाउँपालिकाको समन्वयमा सम्पन्न शिविर कटुञ्जे माध्यमिक विद्यालय नजिक रहेको पुरानो गाविस भवनको प्रांगणमा सञ्चालन गरिएको थियो । शिविरमा गाई–भैँसी, गोरु, बाख्रा–पाठा लगायतका पशुको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

विशेषगरी, ग्रामीण क्षेत्रमा कुकुरमार्फत फैलिने रेबिज जोखिम न्यूनीकरणका लागि ४० वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको थियो । यसले मानव स्वास्थ्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

शिविरमा पशुमा देखिने विभिन्न रोगको उपचार, गोबर परीक्षण, पोषण व्यवस्थापन तथा रोग रोकथाम सम्बन्धी परामर्श दिइएको थियो । पशु चिकित्सकहरूको टोलीले कृषकलाई आधुनिक पशुपालन विधि अपनाउन सुझावसमेत दिएको जनाएको छ ।

गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलाले गाउँमै विशेषज्ञ सेवा पुगेपछि कृषकलाई समय र खर्च दुवै बचत भएको बताए । ग्रामीण क्षेत्रमा नियमित यस्ता शिविर सञ्चालन भए पशुपालन व्यवसाय थप व्यवस्थित र उत्पादनमुखी बन्ने उनको धारणा थियो ।

स्थानीय कृषकहरूले पनि गाउँमै सेवा उपलब्ध हुँदा सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्ति पाएको बताएका छन् । पशु स्वास्थ्य सुधारसँगै दूध तथा मासु उत्पादन वृद्धि हुने अपेक्षाले कृषकहरू उत्साहित देखिएका छन् ।