ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१ कुइभिरमा गरिवी निवारणका लागि लक्षित गर्दै १० दिने लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । चिशंखुगढी गाउँपालिकाको एक लाख २६ हजारको बजेट र पालिकाको आयोजनामा पुस २० गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रममा १९ जना महिलालाई खोसेलाको फुल बनाउने, दुबोको माला उन्ने, नरिवल सुपारी बनाउने तथा सजावटको सामाग्री बनाउने तालिम प्रदान गरिएको चिशंखुगाढी गाउँपालिकाकी उद्यम विकास सहजकर्ता कल्पना बोकटीले जानकारी दिइन् । उनका अनुसार तालिममा धरानबाट आएकी मुना खडकाले प्रशिक्षण दिएका थिए ।

तालिममार्फत महिलालाई आत्मनिर्भर बनाउन, आर्थिक रुपमा सक्षम बनाउने मुख्य उद्देश्य रहेको बताइन् ।
स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने सिप सिकाइएकाले तालिम पछि महिलाहरूलाई स्वरोजगारमा जोडिन सहज हुने विश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सिपमूलक तथा आयआर्जनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया