आफ्नै भवनबाट स्वास्थ्य चौकी पात्लेको सेवा सुरु

भिजन समाचार
82
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–७ जेसेमा रहेको स्वास्थ्य चौकी पात्लेले नवनिर्मित सुविधा सम्पन्न आफ्नै भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै सेवा प्रारम्भ गरिएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाबाट विनियोजित १ करोड ६५ लाख रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको मोलुङ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । उनका अनुसार यसअघि विद्यालयको भवनबाट स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता रहेकामा अब आफ्नै सुविधा सम्पन्न भवनबाट गुणस्तरीय सेवा सुरु गरिएको हो ।

नवनिर्मित भवनबाट गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले सहज, सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरणमा उपचार तथा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको वडा अध्यक्ष सुनुवारले बताए ।

वडाले आगामी दिनमा आवश्यक जनशक्ति, उपकरण र औषधि व्यवस्थापनलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको स्तर थप सुधार गर्ने जनाएको छ ।

उद्घाटन कार्यक्रममा मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई, सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका सिनियर डिभिजन इन्जिनियर सुरोज पाैडेल, गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष गौतमसहित कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका तथा स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।