पर्यटन व्यवसायीको पहलमा मोलुङ खोलामा ह्युम पाइप राखियाे


ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ मा रहेको मोलुङ खोलामा ह्युम पाइप जडान गरिएको छ । गाउँपालिकाका वडा–९ का वडा सदस्य तथा पर्यटन व्यवसायी पेम्बा ङवाङ शेर्पाको पहलमा स्विजरल्याण्डस्थित एक दातृ निकायको करिब १२ लाख रुपैयाँ सहयोगमा उक्त काम सम्पन्न भएको हो ।

यसअघि मोलुङ खोला तर्ने स्थायी संरचना नहुँदा साना तथा ठूला सवारी साधनहरू खोलाबाटै आवतजावत गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा खोलाको बहाव बढ्दा सवारी आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने र स्थानियले सास्ती भाेग्नु पर्ने अवस्था रहँदै आएको थियो ।

खिजीदेम्बा गाउँपालिका वडा–९ का वडा अध्यक्ष ङवाङ फुरी शेर्पाका अनुसार बर्खायाममा बिरामी बोकेका सवारी साधन, स्थानीय बासिन्दा, व्यापारी तथा आपतकालीन सेवामा समेत गम्भीर समस्या हुने गरेको थियो । तर, ह्युम पाइप जडान भएपछि वर्षाको समयमा पनि सवारी साधन सहज रूपमा आवतजावत गर्न सक्ने अवस्था बनेको उनले जानकारी दिए ।

स्थानीय बासिन्दाले पनि बर्खायाममा खोला पार गर्दा निकै जोखिम र समस्या झेल्नुपरेको बताउँदै ह्युम पाइप जडानपछि आवतजावतमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।