ओखलढुंगाको मोलुङ गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य थानी–ढुङ्गासम्म पुग्ने पदमार्ग निर्माणको प्रक्रिया सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष उत्तम राई, प्राविधिक तथा जनप्रतिनिधि सहितको टोलीले मंगलबार स्थलगत अवलोकन गर्दै प्रारम्भिक सर्भे गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को हिउँदे अधिवेशनबाट उक्त पदमार्ग निर्माणका लागि ९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार रामपुर बजारबाट करिब चार किलोमिटर माथि डाँडामा रहेको थानी–ढुङ्गासम्म खानीढुङ्गाको छेउबाट पदमार्ग निर्माण गरी तलतिर झरिने ढाँचामा योजना अघि बढाइएको छ ।
थानी–ढुङ्गा ऐतिहासिक तथा प्राकृतिक दृष्टिले आकर्षक गन्तव्य मानिँदै आएको छ । पदमार्ग निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय पर्यटन प्रवर्द्धन हुने र रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले यस क्षेत्रलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ चरणबद्ध रूपमा आवश्यक पूर्वाधार निर्माण गर्दै जाने जनाएको छ । स्थानीय बासिन्दाले पनि पदमार्ग निर्माणले थानी–ढुङ्गा क्षेत्रको पहिचान थप उजागर हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया