बाख्रालाई पिपिआर र बंगुरलाई स्वाइन फिभर विरुद्धकाे खोप अभियान सुरु

भिजन समाचार
98
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सबै वडामा बाख्रालाई पिपिआर र बंगुरलाई स्वाइन फिभर विरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ ।

नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग तथा महामारीबाट किसानलाई हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित खोप अभियान थालेको हो । सोमबार सिद्धिचरण नगरपालिका–१२ बाट औपचारिक रूपमा अभियानको थालनी गरिएको नगरपालिकाकी पशु चिकित्सक हिरा परियारले जानकारी दिइन् ।

अभियानको शुभारम्भ गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष उमंग श्रेष्ठ र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख गणेश भट्टराईले पशुमा देखिने संक्रामक रोगको रोकथामका लागि खोप अत्यन्तै महत्वपूर्ण रहेको भन्दै निःशुल्क रूपमा सञ्चालन गरिएको अभियानबाट अधिकतम लाभ लिन किसानलाई आग्रह गरे ।

अभियान अन्तर्गत करिब १५ हजार बाख्रा तथा भेडालाई पिपिआर रोग विरुद्धको खोप लगाइनेछ भने दुई हजारभन्दा बढी बंगुरलाई स्वाइन फिभर विरुद्धको खोप लगाइनेछ ।

नगरपालिकाले आफ्ना पशुहरूलाई समयमै खोप लगाउन सबै किसानलाई अनुरोध समेत गरेको छ । यस्तै, जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका लगायत अन्य केही पालिकाले पनि पशुमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेका छन् ।