ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–८ धुपीसुर्केमा १५ दिने श्याब्रु (परम्परागत शेर्पा नृत्य) प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
थाेलेदेम्बा शेर्पा किदुक गाउँ इकाइ कमिटी पाङजेरे (धुपीसुर्के) को आयोजनामा सञ्चालन भएको प्रशिक्षण शुक्रबार समापन भएको हो । कार्यक्रम खिजीदेम्बा गाउँपालिका वडा नम्बर–८ को एक लाख रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन गरिएको वडा अध्यक्ष नगेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
वडा अध्यक्ष बस्नेतका अनुसार स्थानीय शेर्पा समुदायको मौलिक संस्कृति तथा परम्परागत श्याब्रु नृत्यको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । समुदायमा सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै भविष्यमा सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्य पनि प्रशिक्षणको मुख्य उद्देश्य रहेको उनले बताए ।
१५ दिने प्रशिक्षणमा २५ जना महिला र ७ जना पुरुष गरी जम्मा ३२ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
कार्यक्रम समापन अवसरमा प्रशिक्षक, प्रशिक्षार्थी तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने व्यक्तिहरूलाई कदर–पत्र तथा प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया