पुष २ गते बुधबार ओखलढुंगाकाे मोलुङ गाँउपालिका-७ तालकोटका एक २२ वर्षिय युवकले आत्महत्या गरे । गत मंशिर अन्तीम साता सिद्धिचरण-१ तलुवाका २६ वर्षिय अर्का एक युवक ओखलढुंगा सदरमुकाम नजिकै मृत अवस्थामा फेला परे । उनले पनि जंगलमा आत्महत्या गरेका थिए । १२ दिनकाे अवधिमा दुई जना युवाले प्राण त्यागे, यी ताजा घटना हुन् ।
ओखलढुंगामा आत्महत्याका घटनाहरू पछिल्ला वर्षहरूमा गम्भीर सामाजिक समस्याका रूपमा देखा परिरहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार विगतका दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म गरी जिल्लामा ८४ जनाले आत्महत्या गरेका छन् ।
तथ्यांक अनुसार आत्महत्या गर्नेमा पुरुषको संख्या झण्डै दोब्बर रहेको छ । यस अवधिमा ५१ जना पुरुष, २७ जना महिला, तीन जना बालिका र तीन जना बालकले आत्महत्या गरेका छन् । यो तथ्यांकले आत्महत्या समस्या केवल वयस्कमा मात्र नभई बालबालिकासम्म फैलिँदै गएको संकेत गर्छ ।
प्रहरी निरीक्षक मनिष लुईटेलका अनुसार चालु आर्थिक वर्षमा मात्र हालसम्म १७ जनाले आत्महत्या गरिसकेका छन् । गत आर्थिक वर्षमा २६ जना र अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४१ जनाले आत्महत्या गरेका थिए । अघिल्ला दुई आर्थिक वर्षको तुलनामा आत्महत्यादर केही घट्दो देखिए पनि चालु आर्थिक वर्षमा पुनः बढ्दो क्रममा जानुले आगामी दिनमा जोखिम झन् बढ्न सक्ने संकेत गरेको छ ।
आत्महत्याका माध्यमतर्फ हेर्दा ७७ जनाले झुण्डिएर, छ जनाले विष सेवन गरेर र एक जनाले पानीमा हाम्फालेर ज्यान गुमाएका छन् । झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्यधिक हुनुले आत्महत्या रोकथामका लागि प्रारम्भिक चरणमै मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या बढ्नुका प्रमुख कारणहरूमा मानसिक तनाव, आर्थिक संकट, पारिवारिक बेमेल, वैवाहिक अशान्ति र अनैतिक प्रेम सम्बन्ध रहेका छन् । यी कारणहरू समाजका विभिन्न तहमा गहिरो रूपमा जरा गाडेर बसेका समस्या भएकाले आत्महत्या न्यूनीकरणका लागि केवल प्रहरी प्रयास मात्र पर्याप्त नहुने देखिन्छ ।
प्रहरीले आत्महत्या न्यूनीकरणका लागि मानसिक बिरामीलाई समयमै उपचार, उचित परामर्श तथा समुदायस्तरमा सचेतना आवश्यक रहेको बताएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथामसम्बन्धी सचेतना दिइँदै आएको र विभिन्न संघ–संस्था तथा स्थानीय तहले पनि उपचार र जनचेतनामा जोड दिइरहेका छन् ।
तर बढ्दो तथ्यांकले अझै प्रभावकारी कार्यक्रम, सहज पहुँचयोग्य मानसिक स्वास्थ्य सेवा र परिवार तथा समाजको सहकार्य अपरिहार्य रहेको स्पष्ट देखाएको छ । आत्महत्या रोकथाम अब केवल व्यक्तिगत समस्या नभई समग्र समाजले गम्भीरतापूर्वक लिनुपर्ने साझा चुनौतीका रूपमा देखा परेको छ ।

प्रतिक्रिया