सेप्ली झरनाको झोलुङ्गे पुल मर्मत

भिजन समाचार
80
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–८ स्थित प्रमुख पर्यटकीय गन्तव्य सेप्ली झरना जाने झोलुङ्गे पुल मर्मत गरिएको छ । वडाको पहल र गाउँपालिकाको लागतमा पुलको क्षतिग्रस्त भाग मर्मत सम्पन्न गरिएको हो ।

करिब चार महिनाअघि माथिबाट खसेको ढुंगाले पुलको बीचभागमा प्वाल पारेपछि पुल जोखिमपूर्ण बनेको थियो । गाउँपालिकाको बजेटबाट चार जनाको समूहले मर्मत–सम्भार गरेको मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भएको पुल एक वर्ष भित्रै क्षति पुगेको हो । पुल क्षतिग्रस्त भएपछि सेप्ली झरना जाने पर्यटक र स्थानीय बासिन्दा आवत जावतमा समस्या झेलिरहेका थिए ।

मर्मतपछि अब पर्यटकलाई सहज आवागमन हुने वडा कार्यालयले जनाएको छ । यसअघि वर्षातका कारण सडक बिग्रिनु, आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यताका कारण समयमा मर्मत गर्न कठिन भएको बताइएको थियो ।

पुल क्षतिग्रस्त भएर लामो समयसम्म मर्मत नहुँदा विषयमा भिजनले समाचार प्रकाशन–प्रशारण गरेको थियो । त्यसपछि सम्बन्धित निकायले चासो देखाउँदै मर्मत कार्य अघि बढाएको हो ।