ओखलढुंगामा प्रतिवन्धित लागुऔषधसहित पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार सिद्दिचरण नगरपालिका–९ का २६ वर्षीय चुलेन्द्र खड्का र सिद्धिचरण नगरपालिका–१२ का २६ वर्षीय सागर केसीलाई लागुऔषधसहित नियन्त्रणमा लिएर अनुसन्धानपछि सोमबार अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
गत भाद्र ४ गते मानेभन्ज्याङको केतुकेबाट ओखलढुंगातर्फ आउँदै गरेका उनीहरुले मोटरसाइकलमा लुकाईछिपाई प्रतिबन्धित औषध ल्याएका थिए । उनीहरुको साथबाट ‘ट्रामाडोल–५०’ लेखिएको १० पत्तामा ९१ क्याप्सुल बरामद भएको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले प्रतिबन्धित लागुऔषध मानेभन्ज्याङ गाउँपालिका–४ गुरुङडाँडाकी ३३ वर्षीया सानुमाया तामाङबाट खरिद गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
त्यस आधारमा सानुमाया तामाङलाई पनि भदौ १३ गते उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धानपछि सोमबार अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।

तीनै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । विगत केही वर्षदेखि जिल्ला सदरमुकाममा लागुऔषधको प्रयोग गर्ने युवाहरुको संख्या बढ्दै गएको आशंका रहँदै आएको र त्यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी र सक्रियता बढाएको छ ।

प्रतिक्रिया