ओखलढुंगाका गाउँगाउँमा मोतिबिन्दुका विरामी फेला

भिजन समाचार
62
Shares

ओखलढुंगाको गाउँगाउँमा मोतिबिन्दुका विरामी फेला पर्ने क्रम बढ्दो रहेको छ । हरेक वर्षजस्तै यस वर्ष पनि जिल्लाका विभिन्न स्थानीय तहमा आँखा स्वास्थ्य शिविर सञ्चालन हुँदा उल्लेख्य संख्यामा मोतिबिन्दुका विरामी पहिचान भएका छन् ।

जिल्ला सामुदायिक आँखा केन्द्रको संयोजनमा सिद्धिचरण नगरपालिका, सुनकोशी गाउँपालिका र चिशंखुगढी गाउँपालिकामा सञ्चालन भएको आँखा परीक्षण शिविरमा २४५ जनाले जाँच गराउँदा २२ जनामा मोतिबिन्दु पाइएको केन्द्रकी प्रमुख टिका राईले जानकारी दिइन् ।

शिविरमा सबैभन्दा बढी ११ जना मोतिबिन्दुका विरामी मूलखर्क स्वास्थ्य चौकीमा फेला परे । त्यस्तै, बेतिनी स्वास्थ्य चौकीमा तीन जना र दियाले स्वास्थ्य चौकीमा आठ जना विरामी पहिचान गरिएको आँखा केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार पहिचान भएका सबै विरामीलाई सहुलियत दरमा शल्यक्रिया उपलब्ध गराइनेछ । शल्यक्रिया कार्यक्रम आगामी असोज २२ र २३ गतेका लागि तय गरिएको छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा दृष्टि समस्या सामान्य जीवनयापनमै असर पारिरहेको पाइने भएकाले यस्ता शिविरले नागरिकलाई समयमै उपचार पाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।