गाउँगाउँमा समय सकिएकाे अखाद्य सामग्री फेला

अनुगमन टाेली बाट सामाग्रीकाे म्याद लेवल हेरिदै।

ओखलढुंगाको ग्रामिण बजारमा आक्कल झुक्कल मात्र बजार अनुगमन हुन्छ । सम्बन्धीत स्थानिय तहहरुले समेत पालिका भित्रका बजार पसलमा प्राथमिकताका साथ बजार अनुगमन गर्दैनन् ।

गाउँ घरका पसल बजारमा कालो बजारी साथै म्याद गुज्रेको अखाद्य सामाग्री विक्रि हुनेगरेको गुनासो नागरिक स्तर बाट आईरहेको छ । मोलुङ गाउँपालिकाले श्रीचौर बजार क्षेत्रमा अनुगमन गरेको छ ।

वडा नम्बर–६ अन्तर्गत पर्ने बजार क्षेत्रमा गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाको संयोजकत्वमा बजार अनुगमन गर्दा करिब नौ हजार मुल्य बराबरको म्याद गुज्रिएको किराना सामान फेला परेका छन् । करिब आधा दर्जन पनि किराना पसल नभएको बजार बाट यत्तिको मुल्य बराबरको म्याद गुज्रेको सामाग्री फेला परेको हो ।

अनुगमनका क्रममा चिउरा, मसला, ड्यू, बिस्कुट, चाउचाउ लगायतका खाद्य सामग्रीको उपभोग समय सकिएको पाईएको छ । उक्त सामाग्रीहरु नष्ट गरिएको उपाध्यक्ष खतिवडाले बताईन् ।

उपभोग्य समय सकिएको खाद्य सामग्री सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले उपभोक्तालाई सचेत रहन उनको सुझाव छ । आगामी दिनमा गाउँपालिकाका बजार तथा पसलहरुमा नियमति अनुगन गर्ने योजना रहेको उपाध्यक्ष खतिवडाले बताईन् । चाडबाड तथा विशेष अवसरमा मात्र केही स्थानिय तहले देखावटी बजार अनुगमन गर्ने गरेका छन् ।