केत्तुकेमा भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी

भिजन समाचार
46
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा भूमिहीन परिवारलाई पुर्जा वितरणको तयारीस्वरूप मंगलबार जग्गा नापजाँच गरिएको छ ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष पुरुषोत्तम लुईटेल, नापी कार्यालयका कर्मचारी र गाउँपालिकाको नापी टोलीको उपस्थितिमा मानेभञ्ज्याङ–४ केत्तुकेमा दुई सुकुम्बासी परिवारका लागि जग्गा नापजाँच गरिएको हो ।

गाउँपालिकाका नापी सर्वेक्षक विवेक गौतमका अनुसार भूमिहीन परिवारलाई व्यवस्थित बसोबासका लागि सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउन सीमाना अनुसार नापजाँच गरी पुर्जा तयार गर्ने प्रक्रिया अघि बढाइएको छ ।

जग्गा नापजाँच सम्पन्न भएपछि सुरक्षित आवासको बाटो खुलेको भन्दै केत्तुकेका सुकुम्बासी परिवारले खुशी व्यक्त गरेका छन् ।