ओखलढुंगा । गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएपछि झण्डै एक वर्ष बितिसक्दा पनि पुल पुनर्निर्माण भएको छैन । परिणाम स्वरूप ढेबुवा र वडा नं.४ जेरोङघाटका नौ बालबालिका चार महिनादेखि विद्यालय जानबाट वञ्चित छन् भने कुल २६ विद्यार्थीको शिक्षामा असर परेको छ ।
बाढीले पुल बगाएपछि फिक्कल गाउँपालिकाको पहलमा व्यवस्था भएको अस्थायी ¥याफ्टिङ बोट पनि पानीको बहाव बढेपछि बन्द गरिएको छ । बोट बन्द भएपछी विद्यार्थीहरू विद्यालय पुग्ने सुरक्षित मार्गविहीन भएका छन् । जेरोङघाटकी चन्द्रकुमारी राई भन्छिन्, “बच्चा पढाउन मन छ, तर पुल पनि छैन, डुङ्गा पनि चल्दैन, अब के गर्ने ?”

फिक्कल गाउँपालिका–६ को गेरुडाँडा मावि र राईगाउँ आधारभूत विद्यालय तीनखण्डेमा अध्ययनरत २६ विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । ढेबुवाका सविन माझीले भने, “पुल बनाउन कसैले चासो दिएन, वडा र गाउँपालिकाले बालबालिका पढ्न नपाएको विषयलाई बेवास्ता गरे । हिड्न सक्ने विद्यार्थीलाई करिब दुई घण्टा लाग्ने टोक्सेल नयाँ पुल बाट स्कूल पठाइयो, नसक्ने घरमै रहन बाध्य छन् ।” केहि विद्यार्थी योगिस्थान आधारभूत विद्यालय साँधी जान थालेका छन् ।
पुल नहुँदा शिक्षा मात्र होइन, स्थानीयको दैनिकीमा पनि ठूलो असर परेको छ । स्थानीय जीवन राईका अनुसार, “सामान किन्न मात्रै डेढ घण्टा पैदल हिंडेर घुर्मी पुग्नुपर्छ ।” जोखिम मोलेर ट्युबको सहायताले नदी पार गर्ने प्रयासमा ज्यान जोखिममा परेको घटना पनि घटिसकेको छ । मंगलबार मात्र ३५ वर्षीय धनबहादुर माझी ट्युब पल्टिएर करिब ५०० मिटर तल बगेका थिए, केही दिन अघि पनि बगेर करिब डेढ किलोमिटर तल सोखुखोला दोभान पुगेका माझीको स्थानीयले उद्धार गरेका थिए ।
स्थानीय बासिन्दाले पटक–पटक पुल पुनर्निर्माणको माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानियको आरोप छ । समुदायका अगुवाहरुका अनुसार गाउँपालिका अध्यक्ष र नेतृत्वको असक्षमताका कारण स्थानियले लामो समय देखी दुःख भोग्नु परेको हो । बालबालिकाहरु महिनौ देखि पढाई बाट बञ्चित हुँदा समेत पालिकाले चासो दिएको छैन ।
सिमान्तकृत माझी समुदायका बालबालिकाको शिक्षा, जनताको दैनिकी र जीवन जोखिममा हुँदा पनि गाउँपालिकाले प्राथमिकता नदिएको विषयलाई स्थानीयले लापरबाही बताएका छन् ।
बालबालिका अध्ययन गर्ने फिक्कल गाउँपालिका–६ सिन्धुलीको विद्यालय सँग उनिहरुको पढाईलाई निरन्तरता गराउन समन्वय गरिने सुनकोशी–१ का वडा अध्यक्ष प्रकाश सापकोटाले बताए । थप समन्वयका लागी गाउँपालिकामा पहल गरिने अध्यक्ष सापकोटाको भनाई छ ।

दोश्रो पटक बाँचे धनबहादुर
करिब एक वर्षअघि आएको बाढीले ढेबुवा–सिन्धुली फिक्कल तीनखण्डे जोड्ने झोलुङ्गे पुल बगाएपछि अस्थायी राफ्टिङ डुङ्गा सञ्चालनमा आएको थियो । तर हाल डुङ्गा पनि बन्द भएपछि स्थानीयहरू ट्युबको सहारामा नदी पार गर्न बाध्य छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ ढेबुवाका ३५ वर्षीय धनबहादुर माझीलाई एक हप्ताभित्रै दोश्रो पटक सुनकोशी नदिले बगाएको छ । उनी, आज घरायसी सामान जस्तै नुन, तेल, चामल लिएर फिक्कल–६ कल्लेरीबाट फर्किंरहेका बेला ट्युब पल्टिँदा करिब ५०० मिटर तल बगेका थिए । यसअघि पनि केही दिन अघि माझी करिब एक किलोमिटर तल सोखुखोला दोभान सम्म बगेका थिए, तर स्थानीयको सहयोगमा ज्यान जोगाउन सफल भएका थिए । त्यो दिन पनि उनि कल्लेरी बाट घर फर्केका थिए ।

स्थानीय जीवन राईले बताए अनुसार, पुल नभएको कारण विद्यार्थी, मजदुर र बासिन्दाले बारम्बार जीवन जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था आएको छ । “घरायसी अत्यावश्यक सामानका लागि उदपुरको घुर्मी बजार जान आउन तीन घण्टा बढी लाग्छ । नजिक भएकाले स्थानियले ट्युबमा जोखिम मोलेर पारि जाने गरेका छन्,” राईले भने ।
ढेबुवा र सुनकोशी–४ जेरोङघाटका नौ जना बालबालिका चार महिनादेखि विद्यालय जान पाएका छैनन् भने कुल २६ विद्यार्थीको पढाइ प्रभावित भएको छ । “पुल भए हामीलाई यस्तो जोखिम मोलेर नदी पार गर्नु पर्दैनथ्यो,” उद्धारपछि माझीले भने ।
स्थानीयवासीले बारम्बार पुल निर्माणको माग गरे पनि गाउँपालिका र सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाएका छन् । यसैबीच, भर्खरै पुल निर्माणका लागि सर्भे गरिएको वडा अध्यक्ष प्रकाश सापकोटाले बताए । “यहाँका स्थानिले जोखिम मोलेर नदी तर्ने गरेको जानकारी आएको छ । ट्युबमा तर्ने कार्य रोक्न सूचना जारी गरिने र पहल गर्ने योजना छ,” सापकोटाले बताए ।

प्रतिक्रिया