ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा बजार व्यवस्थापनका क्रममा किसानबीच विभेद देखिएको छ । सदरमुकामको प्रमुख हटिया क्षेत्रमा हाल निर्माण गरिएको तरकारी, फलफूल र पशुपंक्षी बिक्री केन्द्रले खसी–बोका व्यापारीलाई सहज सुविधा पु¥याए पनि बंगुर पालक किसान भने अझै सडक किनारमै व्यापार गर्न बाध्य छन् ।
मोलुङ गाउँपालिका–१ कुन्तादेवीका खसी–बोका व्यापारी कमल ढकाल भन्छन्, “विक्री केन्द्र बनेपछि व्यापारमा सहजता आएको छ, ग्राहकलाई देखाउन र बेच्न सजिलो भएको छ ।” यस्तै, सिद्धिचरण–९ का उद्धव खड्काले पनि नयाँ बिक्री केन्द्रले खसी–बोका व्यापारीलाई सजिलो भएको बताए ।
तर, बंगुर पालक किसानको गुनासो फरक छ । सिद्धिचरण–१० बेतीनीका बुद्धिमान विक भन्छन्, “हामी अझै खुला आकाशमुनि, धुलो–धुवाँमा बस्नुपर्छ । कर तिर्छौं, तर सुरक्षित र सरसफाइयुक्त स्थान पाउनुपर्छ ।” मानेभञ्ज्याङ–३ उँबुका किसान दिलकुमार राईले दुर्गन्ध, संक्रमणको जोखिम र सडकमा सवारी आवागमनमा असर परेको समस्या सुनाए ।
यस गुनासोलाई गम्भीरतापूर्वक लिँदै सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले सबै कृषकलाई समान सुविधा दिन दीर्घकालीन योजना तयार भइरहेको जानकारी दिए । “बंगुर पालक किसानको समस्या प्राथमिकतामा राखेर समाधान तर्फ अघि बढिरहेका छौं,” उप–प्रमुख बस्नेतले भने ।
नगरपालिकाले बजार व्यवस्थापन विस्तार गर्दै सबै प्रकारका कृषकलाई समान पहुँच हुने पूर्वाधार बनाउने तयारी गरेको जनाएको छ । यसले किसानबीचको सुविधा–असुविधा विभेद अन्त्य हुने नगरपालिकाको दाबी छ । तर, किसान विच नगरपालिकाले गरेको विभेद प्रति सरोकारवालाहरुले प्रश्न गरेका छन् ।

प्रतिक्रिया