ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलका बासिन्दा विगत वर्षौंदेखि पानीको अभावसँग जुध्दै आएका थिए । बिहान चाँडै उठेर घाममा हिँड्दै काफलकोट सम्म पुगेर पानी ल्याउनु उनीहरूको दैनिक जीवनको हिस्सा थियो । दैनिक घण्टौं लामो बाटोमा पानी बोक्नुपर्दा महिला, वृद्धवृद्धा र बच्चाहरु सबैले कठिनाइ झेल्नु पथ्र्यो ।
तर अब टोक्सेलबासीहरूको जीवनमा सुखद आशा जागेको छ । गाउँपालिकाले २६ लाख लागतमा टोक्सेलमा डिप बोरिङ लिफ्टिङ योजना सञ्चालन गरी पानीको व्यवस्था गरेको छ । चार दिनको लगातार प्रयासपछि १८० मिटर गहिराईबाट टोक्सेल गाउँमा पानी निकाल्न सफल भएको छ ।
स्थानीयको आवश्यकता बुझेर योजना अघि बढाइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । “अब घरघरमा पानी पुर्याउने काम सुरु भएको छ । नागरिकका आधारभूत आवश्यकताहरु पूरा गर्नु हाम्रो कर्तव्य हो ।” अध्यक्ष रुम्दालीले भने ।
यस योजनाबाट ७५ घरमा ‘एक घर, एक धारा’ कार्यक्रम मार्फत प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाले जनाएको छ । वर्षौँदेखिको खानेपानीको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष विष्णु प्रसाद गाैतमले बताए । उक्त स्थानमा कम्तीमा ४० वर्ष सम्म जमिन मुनीबाट पानी आउने प्राविधिक श्राेतले जनाएकाे छ ।

प्रतिक्रिया