ओखलढुंगाको आठ स्थानीय तहका चार हजार भन्दा बढी घरधुरी मनसुन जन्य विपदको जोखिममा रहेका छन् । जिल्ला विपद व्यवस्थापन समिति ओखलढुंगाको तथ्याङ्क अनुसार आठ वटा स्थानिय तहका ३५ भन्दा बढी वस्ती बाढी–पहिरोको उच्च जोखिममा रहेका छन् ।
३५ वस्तीका चार हजार ४७ घर परिवार मनसुन जन्य बाढी पहिरोको उच्च जोखिममा रहेको पाईएको छ । आठ वटा स्थानिय तह बाट जिल्ला विपद् व्यवस्थापन समितिले प्राप्त गरेको विवरण अनुसार १२ हजार ३८४ मानिसहरु जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सूचना अधिकारी अनुप पौडेलले जानकारी दिए ।
विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४ घरधुरी पहिरो र १४३ घर बाढीजन्य प्रकोपको जोखिममा छन् ।
सबैभन्दा बढी जिल्लाको खिजीदेम्बा गाउँपालिका–३ को एस्टेन, भित्ताखर्क, सतल्पु, गुरिफ, तनुवा, चप्लेटी खोला र चोस्पु गाउँका गरि दुई हजार ४२५ घरका छ हजार ७० नागरिक जोखिममा रहेका छन् ।
यस्तै मोलुङ गाउँपालिका–८ गौरीगाउँ, पलारु, खिम्ली, ओवाङ्गी, भिरकुना, रागाँदिप, टङ्कु र सेप्लुका गरि ५२० घरका दुई हजार ५०० मानिस पहिरोको जोखिममा छन् । चम्पादेवी गाउँपालिका–८ बिलन्दुका १६५ घरधुरी पनि पहिरोको उच्च जोखिममा छन् ।
यस्तै मानेभन्ज्याङ गाउँपालिका–६ र ७ मा अवस्थित टोक्सेलको हर्कपुर, माझीगाउँ र जयराम घाट तथा चम्पादेवी गाउँपालिका–१ पलापुको सुनकोशी नदि किनारमा रहेका १४३ घर बाढी तथा डुबानको जोखिममा छन् ।
बाढी पहिरोबाट सुरक्षित राख्न जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल स्थान्तरण गर्न स्थानीय तहलाई आग्रह गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।
जिल्लाका सबै पालिकामा पहिरो र केही पालिकाको नदि तटिय क्षेत्रमा बाढी तथा डुबानको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाई छ । उनले आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्था लगायतका सरोकारवाला सँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न प्रमुख जिल्ला अधिकारी सुवेदीले अनुरोध गरेका छन् ।
विपदको समयमा तत्कालै प्रयोग गर्न विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई व्यवस्थापन गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया