यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगाको सम्पर्क कार्यालय हर्कपुर बाट तीन महिनाको अवधिमा २२ लाख बढी राजश्व संकलन गरिएको छ । गत चैत महिनामा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा स्थापना भएको कार्यालय बाट तीन महिनाको अवधिमा २२ लाख ४५ हजार ७८० रुपैयाँ राजश्व संकलन भएको हो ।
सम्पर्क कार्यालय हर्कपुरका प्रमुख कपिलमनी दाहालका अनुसार सबै भन्दा बढी सवारी साधन कर संकलन भएको छ । यस शिर्षकमा १८ लाख ४६ लाख ७९० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ब्लुबुक नविकरण बापत एक लाख दश हजार ५०, पटके राजश्व एक लाख ७२ हजार ६९० संकलन भएको छ । रुटपरमिट बापत २२ हजार ६५० र ९३ हजार ६०० आयकर संकलन भएको प्रमुख दाहालले जानकारी दिए ।
पटके सेवा, ब्ल्यु बुक नविकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरि सम्पर्क कार्यालय स्थापना गरिएको थियो । मध्ये पहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरेर कार्यालय स्थापना भएपछि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका सेवा ग्राहीलाई सेवा लिन सहज भएको छ ।
तीन करोड ६९ लाख राजश्व संकलन

सम्पर्क कार्यालय हर्कपुर र मुख्य कार्यालय रुम्जाटार मार्फत तीन करोड ६९ लाख राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउन देखि असार दोस्रो हप्ता सम्म तीन करोड ६९ लाख २४ हजार ५०९ रुपैयाँ राजश्व संकलन गरिएको यातायात व्यवस्था कार्यालय रुम्जाटारका प्रमुख गोविन्द आचार्यले बताए ।
सवारी साधन कर वापत सबैभन्दा बढी दुई करोड ९१ लाख ५० हजार ३७४ रुपैया राजश्व संकलन भएको छ । सवारी इजजात र सवारी चालक अनुमति पत्र दस्तुर वापत ६० लाख ८६ हजार १६०, यातायात क्षेत्रको आम्दानी चार लाख २० हजार ४६५ र व्यावसाय रजिष्टर दस्तुर वापत ५१ हजार ८५० रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
आयकर वापत १२ लाख १५ हजार ६६० रुपैँया राजस्व संकलन भएको छ । कार्यालयमा यस अवधिमा ३१० सवारी साधन दर्ता भएका छन् । यस अवधिमा सार्वजनिक सवारी १९ वटा, निजी सवारी २७५ वटा र सरकारी सवारी १६ वटा गरी ३१० सवारी साधन दर्ता भएका छन् ।
रुम्जाटारमा रहेको मुख्य कार्यालय बाट सवारी दर्ता, नविकरण, चालक अनुमतीपत्र लगायतका सेवा प्रदान हुँदै आएको छ । सम्पर्क कार्यालय हर्कपुरबाट पटके सेवा, ब्ल्यु बुक नविकरण, जाँचपास र रुट परमिटको सेवा प्रवाह भईरहेको छ ।

प्रतिक्रिया