ओखलढुंगामा साइबर अपराधका ४३ वटा उजुरी प्रहरीमा परेको छ । गत आर्थिक वर्ष भन्दा यस वर्ष साइबर अपराधका उजुरी बढेको छ । चालु आर्थिक वर्षमा ४३ वटा साइबर अपराध सम्बन्धीका उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो वर्ष २० वटा साइबर अपराधका उजुरी परेका थिए ।
साइबर अपराध सम्बन्धी अधिकांश ठाडो निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार कार्यालयमा आएका निवेदन मध्ये अधिकांश फेसबुक एकाउन्ट ह्याक भएको, फेक एकाउन्टबाट ठगी, अनलाईन ठगी र अनलाईन गेमबाट ठगी लगायतका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार साइबर अपराध घटनामा अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका युवायुवती प्रभावित भएका छन् ।
युवाहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुने, अन्जान लिंक खोल्ने, एप र स्किमहरु जाँच नगरी प्रयोग गर्ने, कमजोर पासवर्ड राख्ने, छोटो समयमा पैसा कमाउन डिजिटल गेम खेल्ने जस्ता कारणले युवा वर्ग बढी फस्ने गरेको प्रहरी निरीक्षक कार्कीले बताए ।
साइबर अपराध तथा अनलाईन ठगी बाट बच्नका लागि फेसबुक लगायत सामाजिक सञ्जालमा व्यक्तिगत विवरण सार्वजनिक नगर्न, अन्जान लिंक नखोल्न, बलियो पासवर्ड राख्न र अनलाइन गेम वा स्किममा रकम नलगाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।
दर्ता भएका उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सदरमुकाम लगायत ईन्टरनेटका पहुँच भएका क्षेत्रका नागरिकबाट प्रहरीमा उजुरी निवेदन परेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया