घरेलु मदिरालाई ब्राण्डिङ गर्ने सिद्धिचरण नगरपालिकाको योजना

भिजन समाचार
330
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्राण्डिङ’ गर्दै आयआर्जन र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा रैथाने बाली प्रवद्र्धनलाई प्राथमिकता दिँदै नगरपालिकाले कोदोको रक्सीको ब्राण्डिङ र बजारीकरणका लागि बजेट विनियोजन गरेको हो । रुम्जाटार, ज्यामिरे लगायत नगरका विभिन्न वडामा उत्पादन हुने कोदोबाट बनाइने रक्सीलाई स्वदेश तथा विदेशमा निर्यात गर्ने सम्भावनालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिँदैछ ।

नगरक्षेत्रमा उत्पादन हुने कोदो लगायत स्थानीय उत्पादन बाट उत्पादित स्थानिय रक्सीलाई ‘ब्राण्डिङ’ गरेर नगरबासीको आय आर्जनमा सुधार गरि रैथाने कृषिलाई प्रवद्र्धन र प्रोत्साहन गर्न यो नीति लिइएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले बताए ।

“कृषि मार्फत हामीले समृद्धि खोजीरहेका छौँ । रुम्जाटार लगायत नगरपालिकाको विभिन्न क्षेत्रमा कोदोको निकै राम्रो उत्पादन हुन्छ । यहि कोदोबाट उत्पादन हुने लोकल रक्सीलाई ब्राण्डिङ गरि स्वदेश तथा विदेशमा निर्यात गर्न सकियो भने आर्थिक समृद्धि सम्भव छ ।” नगर प्रमुख खनालले भने ।

नगरपालिकाले कोदो लगायत स्थानीय कच्चा पदार्थ बाट बनेको घरेलु मदिरालाई ‘ब्राण्डिङ र बजारीकरण’ गर्न तीन लाख बजेट विनियोजन गरिएको उपप्रमुख केदारबाबु बस्नेतले बताए । बाली विकास कार्यक्रम अन्तर्गत रैथाने बाली प्रवर्द्धनमा आधारित भई काेदाेकाे रक्सी ब्राण्डीङ तथा बाजारीकरणका लागि तीन लाख बजेट विनियाेजन भएकाे हाे ।

“स्थानीय उत्पादनलाई बेवास्ता गरेर समृद्धि सम्भव हुन्न, त्यसैले नगरपालिकाले रैथाने बाली प्रवद्र्धन गरि आयआर्जन बढाएर आर्थिक समृद्धिमा टेवा पुगोस भन्ने उद्देश्यले नीति, कार्यक्रम र बजेटमा पनि यो कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।” बस्नेतले भने ।

उपप्रमुख बस्नेतका अनुसार कोदोको रक्सी ब्राण्डिङ र बजारीकरणका लागि समूह तथा सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।

कोदो बालीको प्रवद्र्धनका लागि प्रत्येक साउन १५ गते रुम्जाटारमा ‘कोदो दिवस’ मनाइने भएको छ । नगरपालिकाले सो कार्यक्रमका लागि ५० हजार रुपैयाँ छुट्ट्याएको छ ।

(सम्पादन गरिएकाे)