गर्भमै २७ शिशुको मृत्यु, ओखलढुंगामा मृत जन्मदर बढ्दो

भिजन समाचार
366
Shares

ओखलढुंगामा आमाको गर्भमै शिशु मृत्यु हुने दर बढ्दो देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जम्मा २७ शिशुको गर्भमै मृत्यु भएको छ ।

गत आर्थिक वर्षमा १२ जना र चालु वर्षमा हालसम्म १५ शिशुको गर्भमै मृत्यु भएको कार्यालयका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिए । उनका अनुसार चालु आवमा मृत शिशुको संख्या तीनले बढेको हो। यस्तो अवस्थाले आमाको समेत स्वास्थ्यमा जोखिम निम्त्याउने भएकाले सम्बन्धित निकायहरू गम्भीर बन्नुपर्ने उनले बताए ।

सूचना अधिकारी पोखरेलका अनुसार गर्भवती आमाको स्वास्थ्य अवस्था, पोषणको कमी, उच्च रक्तचाप, सुगर, थाइराइडजस्ता रोगको संक्रमण, खानपानमा लापरबाही, मद्यपान, धूम्रपान तथा वातावरणीय प्रदूषण शिशु मृत्युका मुख्य कारण हुन् । साथै, गर्भवती अवस्थाको समयमा स्वास्थ्य परीक्षण नगर्दा समेत गर्भमै शिशु मृत्यु हुने जोखिम उच्च हुन्छ ।

शिशु मृत्यु दर न्यूनीकरणका लागि गर्भवती महिलाले कम्तीमा आठपटक स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको पोखरेल बताउँछन् । त्यसमा विशेषगरी अल्ट्रासाउण्ड परीक्षण महत्त्वपूर्ण हुने र त्यसबाट गर्भ तथा शिशुको अवस्था बुझ्न सकिने भएकाले समयमै समस्या पहिचान गरी मृत जन्मदर घटाउन सकिने उनले उल्लेख गरे ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मातृ सुरक्षा कार्यक्रम, गर्भमै शिशु मृत्यु रोकथाम तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम, स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायमार्फत पोषण, खतराका संकेत, सचेतना र नियमित स्वास्थ्य परीक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार यही अवधिमा जन्मपछि मृत्यु हुने शिशुको संख्या भने अघिल्लो आवमा २ जना र चालु आवमा १० जना रहेको छ ।