ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना सार्वजनिक गरेको छ । वैदेशिक रोजगारी तथा अन्य कारणले वर्षौंदेखि बाँझो अवस्थामा रहेका खेतबारीहरूमा उत्पादनमूलक कार्य गर्ने उद्देश्यले गाउँपालिकाले फलफूल बगैंचा स्थापना गर्ने तयारी गरेको हो ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार, बाँझो जमिनको सदुपयोग गर्दै स्थानीयहरूलाई व्यवसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले पालिकाले उक्त कार्यक्रम अघि सारेको हो । “बाहिरबाट फर्किनेहरुलाई उद्यमशील बनाउन र कृषिमा फर्काउने लक्ष्यसहित बाँझो जमिनमा फलफूल खेती कार्यक्रम ल्याएका हौं,” अध्यक्ष रुम्दालीले भने ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाले विरुवा र प्राविधिक सहयोग उपलब्ध गराउने छ भने आवश्यक मल तथा अन्य सामान्य खर्चहरू सम्बन्धीत जग्गा धनिले व्यवस्थापन गर्नु पर्नेछ । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत पालिका भित्र फलफूल नर्सरी तथा नमुना बगैंचा स्थापना गरिनेछ । यस योजनालाई कृषकमुखी र दीगो कृषि प्रणालीको सुरुवातको रूपमा लिइएको छ । गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने र कृषिमा नयाँ उत्साह भर्ने अपेक्षा गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा १९ वटा कृषिमुखी कार्यक्रम सञ्चालन हुने
मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कृषिमा आधारित १९ वटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्राप्त विवरण अनुसार कुल एक करोड १९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट कृषिक्षेत्रमा छुट्याइएको छ ।
सबैभन्दा धेरै बजेट २५ लाख रुपैयाँ ‘कृषि एम्बुलेन्स तथा मोटर साइकल खरिद कार्यक्रम’ मा विनियोजन गरिएको छ । त्यसपछि कृषि उत्पादन संकलन केन्द्र स्थापना गर्न २२ लाख, खाद्य बालीको बिउ वितरण कार्यक्रम (धान, मकै, गहुँ, कोदो) मा दुई लाख ५० हजार, र हिउँदे तथा वर्षे तरकारीको बिउ वितरण मा तीन लाख ५० हजार विनियोजन गरिएको छ ।
यसका साथै पालिकाका उत्कृष्ट कृषकलाई प्रथम गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया