मूलखर्क । काम गर्ने वातावरण नभएको भन्दै ओखलढुंगाको सुनकोशी गाउँपालिकाका लेखा अधिकृत सुवास धमला सरुवा सहमतिको निवेदन दिएर हिँडेका छन् । विगत ४ वर्षदेखि लेखा अधिकृतको जिम्मेवारीमा रहेका धमला पछिल्लो समय कार्यालयमा नियमानुसार काम गर्ने वातावरण नभएको भन्दै सरुवा सहमतिको निवेदन दिएर हिँडेका हुन् ।
लेखा अधिकृत धमलाले सुनकोशीमा राजश्व प्रमुखको जिम्मेवारीबाट समेत बिदा लिएका छन् ।
कार्यालयमा काम गर्ने वातावरण नभएको भनेर हिँडेका धमलाले १५ दिनको बिदा लिएका छन् ।
जेठ २६ गते सोमबार एकैपटक ३ वटा निवेदन पालिकामा दर्ता गराएका लेखा अधिकृत धमला मंगलबारदेखि कार्यालयमा हाजिर भएका छैनन् ।
पालिकाको दर्ता नम्बर २१३ मा दर्ता भएको उनको निवेदनमा राजश्व प्रमुखको जिम्मेवारीमा रहेर काम गर्न नसक्ने व्यहोरा उल्लेख छ । ‘लेखा प्रमुखको अतिरिक्त राजश्व प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दै आएकोमा आजका मिति २०८२-०२-२६ देखि राजश्व प्रमुखको जिम्मेवारी सम्हाल्न नसक्ने व्यहोरा जानकारी गराउँदछु ।’ निवेदनमा उल्लेख छ ।
दर्ता नम्बर २१४ मा दर्ता भएको निवेदनमा धमलाले सरुवा सहमति मागेका छन् । उनले सरुवाको सहमति मागेको निवेदनमै यस कार्यालयमा रहेर सेवा प्रवाह गर्न नसक्ने अवस्था उल्लेख गरेका छन् । सरुवा सहमति माग गरिएको निवेदनमा भनिएको छ, ‘४ वर्षदेखि यस कार्यालयमा रहि लेखा अधिकृतको रुपमा जिम्मेवारी वहन गर्दै आएकोमा यस कार्यालयमा रहि सेवा प्रवाह गर्न नसक्ने भएको हुँदा मलाई कोशी प्रदेश भित्रका अन्य स्थानीयतहहरुमा सरुवा सहमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।’ सुनकोशी गाउँपालिकाकै स्थानीय समेत रहेका धमलाले आफ्नै पालिकामा निरन्तर सेवा गर्न चाहेपनि पालिकामा नियमानुसार काम गर्ने वातावरण नबनेपछि सरुवा सहमति मागेको उनि निटक स्रोतले बतायो ।
कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै हिँडेका लेखा अधिकृत धमलाले स्वास्थ्यमा समस्या देखाएर १५ दिनको बिदा लिएका छन् । दर्ता नं. २१५ अनुसार बिदा माग गरेको निवेदन दिएका धमलाले संचित भैपरी आउने विदा/घरविदाबाट कट्टा हुनेगरी विदा स्विकृत गरिदिन अनुरोध गरेका छन् ।
स्रोतका अनुसार जनप्रतिनिधिको कार्यशैलीले सुनकोशीका कर्मचारीलाई काम गर्न समस्या छ ।

प्रतिक्रिया