सुनकोशीको विद्यालयमा न्यायिक सचेतनाः बालबालिका र समुदायमा कानुनी चेतना अभिवृद्धि

भिजन समाचार
108
Shares

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गतका माध्यमिक तहका विद्यालयमा ‘न्यायिक सचेतना कार्यक्रम’ सञ्चालन गरिएको छ । गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयमध्ये आठ विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा कानुनी साक्षरता, बालअधिकार, लैंगिक हिंसा नियन्त्रण, बालबालिकाको उत्तरदायित्व तथा न्याय प्रणाली सम्बन्धी जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्य बालबालिका र समुदायमा कानुनी सचेतना अभिवृद्धि गर्नु रहेको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिईन् ।

उपाध्यक्ष अधिकारीका अनुसार शिक्षक साथै कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा विद्यालय र समुदायमा न्यायिक सचेतना विस्तार गरी अन्याय र गैरकानुनी क्रियाकलाप न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । बाँकी रहेका विद्यालयमा पनि आगामी दिनमा कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिईन् ।

कार्यक्रममा सहभागी शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले यस्तो खालको सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा कानुनी चेतना बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी किशोर–किशोरीहरू लक्षित कार्यक्रममा बालमैत्री विद्यालयको अवधारणा, बालअधिकार संरक्षण, तथा कानुनी प्रक्रिया बुझ्ने तरिकाबारे जानकारी दिइएको थियो ।

समुदायमा हुने बालविवाह लगायतका गैरकानुनी गतिविधि रोक्न बालबालिकाले अग्रसर भूमिका खेल्ने बताएका छन् । कार्यक्रममा कानुन व्यवसायी अधिवक्ता टेकनाथ सापकोटा र पत्रकार एसबी जेरोले विद्यालयहरूमा पुगेर प्रशिक्षण दिएका थिए ।

सुनकोशी गाउँपालिकाले आगामी दिनमा अन्य वडाका समुदाय स्तरमा पनि यस्ता सचेतनामूलक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।