कैदीबन्दीलाई कसरतको राष्ट्रिय अभियान सुरु

भिजन समाचार
2
Shares

कैदीबन्दीलाई करसरतको राष्ट्रिय अभियान ओखलढुंगाबाट सुरु भएको छ । कैदीबन्दीको स्वास्थ्यलाई मध्येनजर गर्दै देशैभरका कारागारमा नेपाल तेक्वान्दो संघले व्यायमकला सिकाउने र नियमित व्यायाम गराउने उद्देश्यले जिल्लाबाट राष्ट्रिय अभियानको थालनी गरिएको हो ।

जिल्ला कारागार परिसरमा एक कार्यक्रमका बीच बिहीबार अभियानको थालनीको अवसरमा कैदीबन्दीको स्वास्थ्य परीक्षण, आँखा जाँच, पुस्तक, खेलकुद र वाद्यवादनका सामाग्री पनि हस्तान्तरण गरिएको छ ।

अभियानको उद्घाटन कार्यक्रममा ओखलढुंगा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गणतन्त्र दिवसको अवसमा युवाको सक्रियतामा उदहरणीय काम गरेको भन्दै यो अभियानले सार्थकता पाउने बताए । कारागारमा रहेका कैदीबन्दीहरु शारिरीक र मानसिक रुपमा अस्वस्थ हुने र जेल जीवन भुक्तान गरिसकेपछि समाजमा पुनस्र्थापित हुन गाह्रो हुने समस्या देशभरका कारागारमा रहेका कैदीबन्दीको रहेकाले ओखलढुंगाबाट सुरु भएको यो अभियानलाई राज्यले नै आफ्नो नियमित कार्यक्रममा समेट्नुपर्ने बताए । ‘यो जिल्लाको तेक्वान्दो संघले यो अभियानको थालनी ग¥यो । यहाँबाट सन्देश मात्रै दिने होइन अरु जिल्लामा पनि अभियान लैजाने कुरा निकै प्रशंसा योग्य छ ।’ प्रजिअ सुवेदीले भने, ‘कैदीबन्दीको स्वास्थ्यका लागि यो अभियान सार्थक छ । यसलाई राज्यले नै आफ्नो नियमित कार्यक्रममा राख्नुपर्ने देखिन्छ । हामी हाम्रो तर्फबाट यो अभियानलाई सघाउँछौं ।’ कैदीबन्दीलाई कारागारमा स्वस्थ र सिर्जनशिल बनाएर आनीबानी सुधार गर्दै फेरि अपराधिक गतिविधिमा संलग्न नहुने सर्तमा छाडिनुपर्ने उनको भनाई थियो । 

मदरल्यान्ड तेक्वान्दो डोजाङ सिद्धिचरण नगरपालिका–५ का अध्यक्ष देवराज दाहालले कैदीबन्दीको मानव अधिकारलाई ख्याल गर्दै उनीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य, मनोरञ्जन र सहजताका लागि कार्यक्रम गरिएको बताए । यो अभियान अन्तर्गतको कार्यक्रम देशैभरका ७५ वटा कारागारमा सञ्चालन हुने जानकारी दिए । जिल्ला जिल्लामा स्थानीय तेक्वान्दो संघ र सरकारी निकाय एवम् सामाजिक संस्थासँग सहकार्य गरेर कार्यक्रम गरिने उनको भनाई छ ।

मदरल्यान्ड तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा तिलगंगा सर्जिकल आँखा केन्द्र ओखलढुंगा, ध्लुब्जी द सिद्धिचरण नगरपालिका–११ सोब्रु, सिद्धिचरण नगरपालिका वडा नं ३ र ८ र होम बहादुर प्रेमकुमारी श्रेष्ठ मातृभूमि ट्रष्ट सिद्धिचरण–११ ले विभिन्न सहयोग गरेका छन् ।

कैदीबन्दीमा शारिरीक र मानसिक समस्या बढ्दा कारागार व्यवस्थापनमा चुनौति बढिरहेका बेला यस्ता अभियानको थालनी हुनु सकारात्मक भएको कारागार कार्यालय ओखलढुंगाका निमित्त प्रमुख लेखनाथ दाहालले बताए ।

स्वास्थ्य परीक्षण तथा आँखा जाँच गरेर नियमित कसरतको अवसर पाउने भएपछि कैदीबन्दी खुसी भएका छन् ।

ओखलढुङ्गा कारागारमा हाल ७४ जना कैदीबन्दी छन् । हाल ५५ कैदी र १९ थुनुवा छन् । जसमा सात जना महिला छन् ।