जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको कार्यालय परिसरमै हुलाक डेस्क सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गरी प्रशासन परिसरमै हुलाक डेक्स स्थापना गरिएको हो ।
प्रशासनका कतिपय सेवा हुलाक कार्यालयसँग सम्बन्धित हुने भएपनि प्रशासन र हुलाक कार्यालयको दुरी टाढा हुँदा सेवाग्राहीलाई असहज हुने अवस्था थियो ।
सरकारी कामकाजका लागि सेवाग्राहीलाई हुलाक टिकट आवश्यक हुने तथा हुलाक टिकट लिन बाहिर बजारमा ओहोर–दोहोर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न नागरिकता फाँट नजिकै हुलाक डेस्क सञ्चालन गरेर सेवा दिइएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । डेस्कबाट सेवाग्राहीलाई हुलाक टिकट र हुलाकसँग सम्बन्धित सेवा उपलब्ध गराउने गरिएको छ ।
जिल्ला प्रशासन र जिल्ला हुलाक कार्यालय करिब १ किलोमिटर भन्दा टाढाको दुरीमा छन् । रामबजारको प्रशासन देखि गणेशस्थानको हुलाकसम्म ओहोरदोहोर गरेर हुलाक टिकट लिनुपर्दा निकै समस्या हुने गरेको थियो ।
व्यवसायिहरुले भने हुलाक टिकटमा कालोबजारी गरिरहेका थिए । अङ्कित मूल्य भन्दा ५ देखि १० रुपैंयासम्म बढि लिएर टिकट विक्रि गरिरहेका थिए ।
अहिले सेवाग्राहीले हुलाक डेस्कबाट दस र १३ रुपियाँ अङ्कित मूल्य लगायतका हुलाक टिकट प्राप्त गर्ने गरेका छन् ।
परिसर भित्रै हुलाक टिकट लिन पाउँदा सहज भएको सेवाग्राहीले बताएका छन् । ‘गाउँदेखि आएर हतार हतारमा प्रशासनमा सेवा लिन लाइनबस्यो ठिक्क सेवा लिने बेला टिकट टाँसेर ल्याउनुस् भनेर फाइल फर्काइदिन्छन् । अनि टिकट खोज्न हुलाक पुगेर आउँदा हैरान पनि उत्तिकै समय पनि धेरै लाग्ने अवस्था थियो ।’ खिजीदेम्बाकी पार्वती सुनुवारले भनिन् ‘अहिले त यहिँ हुलाक टिकट पाइने रहेछ । धेरै सजिलो भयो ।’ प्रशासनको डेक्सबाट टिकट लिएर मालपोत, नापी, अदालत र अन्य कार्यालयको सेवा लिन समेत सेवाग्राहीलाई सहज भएको छ ।
सेवाग्राहीको असहजताको अन्त्य गर्न र बजारमा हुने हुलाक टिकटको कालोबजारी रोक्न प्रशासन नजिकै हुलाक डेक्स राख्ने प्रयास गरिएपनि विगतमा व्यवस्थित हुन सकेको थिएन । अहिले प्रशासनसँग समन्वय गरेर कार्यालय भित्रै व्यवस्थित डेक्स सञ्चालन गरेर सेवा दिइएको जिल्ला हुलाक कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख लोक बहादुर मगरले बताए । ‘सेवाग्राहीका सहजताका लागि प्रशासनमै डेक्स स्थापना गरेर सेवा दिइरहेका छौं । विगतमा निकै गुनासो थियो, अहिले सेवाग्राहीलाई सहज भएको छ । टिकटमा हुने कालोबजारी पनि अन्त्य भएको छ ।’ हुलाकको सेवा समयानुकुल र प्रभावकारी बनाउन कार्यालयले योजनावद्ध काम गरिरहेको उनको भनाई छ ।
पहाडी क्षेत्रको छरिएको बजारमा टाढाटाढा सरकारी कार्यालय हुँदा एकअर्काे कार्यालयको सम्बन्धित सेवा लिनु परेमा सेवाग्राहीलाई निकै असहज हुने अवस्था छ ।

प्रतिक्रिया