महिला सशक्तीकरण र संस्कृतिको जगेर्ना: हलेसी तुवाचुङमा मदिरा ब्राण्डिङको थालनी

भिजन समाचार
66
Shares

खेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाले घरेलु महिला उत्पादन तथा उपयोग कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र उत्पादित घरेलु मदिराको ब्राण्डिङ प्रक्रिया सुरु गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई व्यवस्थित गर्दै उत्पादन, प्याकेजिङ र बजार व्यवस्थापनसम्म पुर्‍याउने उद्देश्यले नगरपालिकाले आमा समूह, महिला समूह, होमस्टे तथा सहकारी संस्थालाई सूचीकृत गर्न थालेको हो ।

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै इच्छुक समूह वा महिलाहरूलाई आवश्यक कागजातसहित नगर कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन आग्रह गरेको छ ।

“घरेलु मदिरा उत्पादन तथा उपयोग कार्यविधि २०८१” निर्माण गरेर नगरपालिकाले उक्त कार्यलाई औपचारिक रूपमा अगाडि बढाएको हो । सूचीकृत हुन चाहने सहकारी संस्था, आमा समूह, महिला समूह तथा इच्छुक महिलाहरूलाई ब्राण्डिङ, प्याकेजिङ, व्यापारिकरण, उत्पादन विकास, तालिम तथा कच्चा पदार्थको व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिने नगर प्रमुख विमला राईले जानकारी दिइन् ।

स्थानीय स्रोत साधनको उपयोगमार्फत महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यविधि तयार गरी मदिरा ब्राण्डिङको योजना अघि सारिएको मेयर राईको भनाइ छ ।

उनले किराती समुदायमा घरेलु रक्सीको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै, घरेलु मदिराको व्यवस्थित उत्पादन र प्रयोगले सांस्कृतिक जगेर्नामा पनि योगदान पुर्‍याउने बताइन् ।

कार्यक्रममा सहभागी हुन इच्छुक नगरबासीहरूले यही २०७८ साल जेठ ११ गतेभित्र आवश्यक विवरण र कागजातसहित नगरपालिका कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सूचना यस्ताे छ