पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न साईकल यात्रा गरिएको छ । ओखलढुङ्गा साथै सोलुखुम्बुको पर्यटकीय मनोरम स्थलहरुको प्रवर्द्धन गर्न बृहत साईकल यात्रा गरिएको हो । यात्रामा स्वदेश तथा विदेशका ६५ जना प्रो साईकल यात्रीहरु सहभागी भएका छन् ।
ओखलढुङ्गाको खिजीदेम्बाको फलाटे बजार देखी सोलुखुम्बुको चार हजार मिटर भन्दा अग्लो पीके डाँडा सम्म ७४.६ किलोमिटर साईकल यात्रा सञ्चालन गरिएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । खिजीदेम्बा गाउँपालिकाको विभिन्न पर्यटकीय स्थल गन्तव्यहरुको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्न साईकल यात्रा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शेर्पाको भनाई छ । पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन र अर्थतन्त्रमा विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष शेर्पाले बताए ।
खिजीफलाटे बजार देखी सुरुभएको यात्रा पात्ले, बुलबुले, सोलुखुम्बुको पीकेडाँडा, थोलेदेम्बा डाँडा हुदै पुनः फलाटे बजार आईपुगेर सम्पन्न भएको छ । साईकल यात्रामा एक हात नभएका शारिरीक अपांगता भएका ५४ वर्षिय लोचन अमात्य समेत सहभागी भएका थिए । साईकल यात्रामा सहभागी भएका काठमाण्डौ सामाखुशीका दिपक भुजेलका अनुसार आन्तरिक तथा बाह्य पर्यकट स्थानिय स्तरमा आकर्षण गर्न यो अभियान प्रभावकारी रहेको छ । ओखलढुङ्गाको उच्च भेगको जनजीवन, दैनिकी लगायत भूगोलको अनुगमन गरिएको भुजेलको भनाई छ ।

चितवन, नवलपरासी, काठमाण्डौ, मकवानपुर, भक्तपुर साथै एक जना कोरियाली नागरिक गरि ६५ जना प्रो साईकल यात्रीहरु सहभागी भएको आयोजक ओखलढुङ्गा डेभलपमेन्ट कमिटीका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए । शेर्पाका अनुसार १६ वर्षको किशोर देखी ६५ वर्षिय वृद्ध समेत सहभागि भएका थिए ।
कोशी प्रदेश सांसद प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा सहभागीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ । खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा बृहत साईकल यात्रा सञ्चालन गरिएको हो । केही साता अघि मात्र गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न जिल्लाकै अग्लो देम्बाडाँडामा गल्फ महोत्सव गरेको थियो ।
खिजीदेम्बा गाउँपालिकाले आर्थिक रुपान्तरणका लागि पर्यटन प्रवर्द्धनमा जोड दिएको छ ।
प्रतिक्रिया