ओखलढुङ्गामा आयोजित निःशुल्क मुटु परीक्षण शिविरमा ५ सय २७ जना लाभान्वित भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको आयोजनामा सञ्चालन भएको १ दिने शिविरमा जिल्लाका २ सय ६७ महिला र २ सय ६० पुरुष गरेर कुल ५२७ जनाले विशेषज्ञबाट मुटु परीक्षण गराएका हुन् ।
शिविरमा इसिजी र इका गराएका मध्ये १८ जनामा मुटुको जटिल समस्या देखिएको छ । जटिल समस्या पहिचान भएका र थप उपचारको आवश्यकता देखिएका मुटुरोगीलाई थप उपचारका लागि रेफर गरिएको छ ।

शिविरमा मुटुरोगसँग सम्बन्धित विभिन्न समस्याको परीक्षण, परामर्श र औषधि वितरण गरिएको छ । महंगो शुल्क तिरेर काठमाण्डौका अस्पतालमा जाँच गराउँदा खर्चिलो र झण्झटिलो हुने भएकाले जिल्लाबासी नागरिकलाई निःशुल्क रुपमा सर्वसुलभ सेवा प्रदान गर्न शिविर राखेर सेवा दिईएको नगर प्रमुख तेजेन्द्र खनालले बताए । नागरिकको स्वास्थ्य जाँच तथा उपचार सेवालाई मध्येनजर गर्दै विशेषज्ञसहित झिकाएर गाउँमै सेवा दिनेक्रममा यस पटक मुटु रोगीको जाँच तथा उपचारलाई जोडिएको नगरप्रमुख खनालको भनाई छ । ‘स्वास्थ्य सेवा गाउँ गाउँमा निकै पेचिलो बनेको छ । यहाँ समान्य रोगको आधारभूत उपचार सेवा सुनिश्चितता गराइएको छ तर जटिल रोगका सेवाका लागि बेला बेला शिविर सञ्चालन गरेरै भएपनि सेवा दिइरहेका छौं ।’ नगरप्रमुख खनालले भने । नगरप्रमुख खनालले राजधानीका अस्पतालहरुमा समेत जिल्लाबासीलाई समय समयमा सहुलियतमा उपचारको प्रबन्ध मिलाउँदै आएका छन् ।
शिविरको उद्घाटन गर्दै कोशी प्रदेश सांसद प्रदिपकुमार सुनुवारले नागरिकको स्वास्थ्य र त्यसमा पनि मुटु जस्तो संवेदनशील अंगको निःशुल्क परिक्षण शिविर राखेर नगरपालिकाले अनुकरणीय र उदाहरणीय काम गरेको बताए ।

सामुदायिक कार्यक्रम अन्तर्गत दुर्गमका नागरिकलाई सम्बन्धित जिल्लामै पुगेर सेवा दिने उद्वेश्यले यस पटक ओखलढुंगामा शिविर राखिएको त्रि.वि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महारजगञ्ज काठमाण्डौका बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा रत्नमणि गजुरेलले बताए । कोही पनि नागरिक भौगोलिक विकटता, आर्थिक अभाव र विविध कारणले परिक्षण र उपचारबाट बञ्चित हुन नपरोस भनेर सेन्टरले शिविर सञ्चालन गर्ने गरेको उनको भनाई छ ।
परिक्षणमा जटिल अवस्था पहिचान भएका विरामीलाई निःशुल्क र सहुलियतमा उपचारका लागि अस्पतालले सहयोग गर्ने उनको प्रतिवद्धता छ ।
जिल्लामै विशेषज्ञ डाक्टरबाट निःशुल्क मुटु परिक्षण गराउन पाउँदा निकै सहज भएको सेवाग्राहीले बताएका छन् । आगामी दिनमा पनि यस किसिमका शिविरलाई निरन्तरता दिन उनीहरुले आग्रह गरेका छन् ।
सिद्धिचरण नगरपालिकाको आयोजना, त्रि.वि.मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज, काठमाडौंको प्राविधिक सहयोग र जयन्ती स्मृति प्रतिष्ठान काठमाडौंको समन्वयमा शिविर सञ्चालन भएको हो ।
शिविरको औपचारिक उद्घाटन कार्यक्रममा कोशी प्रदेश सांसद सुनुवार, बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा गजुरेल सहित चिकित्सको टोली, जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, नगरप्रमुख खनाल, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, ओखलढुंगा सामुदायिक अस्पतालका सञ्चालक समिति लगायत पत्रकार, सेवाग्राहीको सहभागिता थियो ।
नगरपालिकाले बर्षेनी नगरबासी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न निःशुल्क शिविरहरु सञ्चालन गर्दै सेवा दिदै आएको छ । आज सञ्चालन भएको शिविरमा नगरपालिकासहित छिमेकी पालिका मोलुङ, मानेभन्ज्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् ।
प्रतिक्रिया