ओखलढुङ्गामा सवारी दुर्घटना न्यूनिकरणका लागि साधनमा लेखिएका सायरी, टाँसिएका पोष्टर र झुण्डाइएका झल्लर हटाउन थालिएको छ । चालकको ध्यान अन्यन्त्र केन्द्रित गर्ने सायरी र पोष्टरले दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित सवारी साधनका सायरी, पोष्टर र झल्लर हटाउन थालेको हो ।
अभियानकै रुपमा सुरु गरेर जिल्ला भित्र चल्ने ठुला–साना सवारीमा जडान गरिएको फोकस लाइट, झल्लर र स्टिकर हटाउन र सायरी मेटाउन थालिएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव निरीक्षक आशिष काफ्लेले बताए । कम्पनीबाट आउनेलाई हटाएर चालकले नियमविपरित जडान गरेका ध्वनी प्रदूषण गर्ने प्रेसर हर्न र फोकस लाइट समेत हटाएर दुर्घटना न्यूनिकरणको विधि अपनाइएको उनको भनाई छ । ‘पहाडी क्षेत्रका घुम्ती सडकहरु उसै त जोखिम छन् त्यसमाथि अहिले सवारीमा सायरी लेख्ने र पोष्टर टाँस्ने चलन बढ्यो । चालकले चारैतिर हेर्नुपर्ने भएपनि अनेकथरी झुण्डाएर हेर्दापनि कुरुप र असुरक्षित बन्दा दुर्घटनाको जोखिम बढ्यो ।’ काफ्लेले भिजनसँग भने, ‘त्यस्ता सवारीलाई ठाउँका ठाउँ समातेर कम्पनीले जस्तो पठाउने हो त्यस्तै सवारी सडकमा गुडाउने गरी त्यस्ता सामाग्रीहरु हटाइरहेका छौं । यसले केही हदसम्म भएपनि दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने छ ।’ सवारीको चाप बढेसँगै दुर्घटना जोखिम न्यूनिकरणका लागि सवारी जाँच र सचेतना बढाइएको ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

अहिले जिल्ला सदरमुका बजार क्षेत्र, मानेभञ्ज्याङ, टोक्सेल हर्कपुर लगायतका क्षेत्रमा ट्राफिक प्रहरीले नियमित सवारी जाँच गर्ने गरेको छ । केही महिना अघि देखि ओखलढुंगामा प्रहरीले मापसेसमेत जाँच गर्न थालेको छ ।
ठाउँ ठाउँमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक संकेत राख्ने, विद्यालयमा विद्यार्थी मार्फत र समुदायस्तरमा समेत ट्राफिक नियमका बारेमा सचेतनाका अभियानहरु सञ्चालन गरेपछि सामान्य असावधानिका कारण हुने दुर्घटनाको संख्या घटेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया