स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ । प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधी विक्रीका लागि राखिएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको पदमा मेडिकलहलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी फेला परेका छन् । उक्त मेडिकलहल मन्सुरीले संचालन गरेका हुन् ।
अनुगमन पश्चात टोलीले उक्त मेडिकल सिल गरेको छ । नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी विक्रीका लागि राखिएको पाईएकाले पदमा मेडिकलहल सिल गरिएको ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौड्यल)ले बताइन् ।
प्रमुख मन्सुरीले जिल्ला स्वास्थ्य कार्यालयबाट सरकारी औषधी लगेर आफ्नो निजि मेडिकल मार्फत विक्री गरेको हुन सक्ने स्थानियले आशंका गरेका छन् । यस अघि पनि प्रमुख मन्सुरीलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सामाग्री दुरुपयोग गरेको आरोप लागेको थियो ।
श्रेष्ठ मेडिकलहलमा लागुऔषध फेला, अनि सिल
सिद्धिचरण नगरपालिका–१२ मा रहेको श्रेष्ठ मेडिकलमा अवैध लागुऔषध फेला परेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनका क्रममा मेडिकलमा प्रतिबन्धीत लागुऔषध फेला पारिएको हो ।

यसका साथै विना इजाजत पशु औषधी र विषादी विक्री गर्ने गरिउको समेत फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौड्यल)ले बताइन् । यसका साथै चिकित्सकको प्रिस्क्रिप्सन बिना औषधी विक्री भईरहेको पाईएकोले सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिईन । सिल गरिएको दुवै मेडिकललाई सम्बन्धीत निकाय बाट थप कारबाहि हुने उनको भनाई छ ।
प्रतिक्रिया