स्वास्थ्य कार्यालय प्रमुखको मेडिकलमा सरकारी औषधी विक्री

भिजन समाचार
622
Shares

स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ । प्रमुख मन्सुरीको मेडिकलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने विभिन्न प्रकारका औषधी विक्रीका लागि राखिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र औषधी व्यवस्था विभाग विराटनगरले संयुक्त अनुगमनमा सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा रहेको पदमा मेडिकलहलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी फेला परेका छन् । उक्त मेडिकलहल मन्सुरीले संचालन गरेका हुन् ।

अनुगमन पश्चात टोलीले उक्त मेडिकल सिल गरेको छ । नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधी विक्रीका लागि राखिएको पाईएकाले पदमा मेडिकलहल सिल गरिएको ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौड्यल)ले बताइन् ।

प्रमुख मन्सुरीले जिल्ला स्वास्थ्य कार्यालयबाट सरकारी औषधी लगेर आफ्नो निजि मेडिकल मार्फत विक्री गरेको हुन सक्ने स्थानियले आशंका गरेका छन् । यस अघि पनि प्रमुख मन्सुरीलाई जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सामाग्री दुरुपयोग गरेको आरोप लागेको थियो ।

श्रेष्ठ मेडिकलहलमा लागुऔषध फेला, अनि सिल

सिद्धिचरण नगरपालिका–१२ मा रहेको श्रेष्ठ मेडिकलमा अवैध लागुऔषध फेला परेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनका क्रममा मेडिकलमा प्रतिबन्धीत लागुऔषध फेला पारिएको हो ।

यसका साथै विना इजाजत पशु औषधी र विषादी विक्री गर्ने गरिउको समेत फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल (पौड्यल)ले बताइन् । यसका साथै चिकित्सकको प्रिस्क्रिप्सन बिना औषधी विक्री भईरहेको पाईएकोले सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिईन । सिल गरिएको दुवै मेडिकललाई सम्बन्धीत निकाय बाट थप कारबाहि हुने उनको भनाई छ ।