लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङमा बिषादी छिड्काउ अभियान थालिएको छ । कालाजारको जोखिम रहेका वडाहरुमा पुगेर ‘स्प्रे म्यान’ मार्फत बिषादी छर्किने र सचेतना जगाउने लगायतका काम सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय ओखलढुंगाको सहयोग र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिषादी छर्कने चार जना व्यक्ति र एक जना फोरम्यानलाई तालिम दिएर पालिकाको तल्लो तटिय क्षेत्रका वडाहरुमा अभियान सञ्चालन भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिए ।

पालिकाका वडा नम्बर ५,६,७,८ र ९ लगायतका वडामा पुगेर कालाजार, डेंगी र औलोको जोखिम रहेकोले रोकथामका लागि लामखुट्टे तथा भुसुना नष्ट गरि अभियान जारी रहेको उनले बताए । पालिकामै सचेतना अभिवृद्धिका लागि सरोकारवालालाई अभिमुखिकरण प्रदान गरिएको थियो ।
यस अघि पालिकामा ३८ जनासम्मलाई कालाजार भएकोमा चालु आर्थिक बर्षसम्म आइपुग्दा जम्मा तीन जना मात्रै कालाजारका बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालको भनाई छ ।
संघ र प्रदेश सरकारका सरोकारवाला निकायका विज्ञद्वारा अध्ययन र परिक्षण गरि नियन्त्रण अभियान थालिएयता संक्रमण घट्दो क्रममा रहेको पालिकाले जनाएको छ ।
कालाजार सार्ने स्याण्डफलाई भुसुनाको पोथी भुसुनाले बिरामीलाई टोकेर निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने विशेषज्ञको भनाइ छ ।
कालाजार रोग लागेका बिरामीमा दुई हप्ताभन्दा लामो समय ज्वरो आउने, पेटको बाँया भाग फुल्ने, सङ्क्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिने गर्दछ । यस्ता लक्षण देखिएमा तत्काले स्वास्थ्य संस्थामा गई परिक्षण गराएर आवश्यक औषधि उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।
प्रतिक्रिया