ओखलढुंगामा ओसीएमसीको सेवा थप प्रभावकारी बनाउन पहल थालिएको छ । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा सोमबार बसेको लैंगिक हिंसा व्यवस्थापन सल्लाहकार समितिको बैठकले ओसीएमसीको सेवा प्रवाहको प्रभावकारिता र दिगोपना सुनिश्चित गर्न निर्णायक पहल गर्ने निर्णय गरेको हो ।
एकद्धार संकट व्यवस्थापन केन्द्रको संचालन निरन्तरताको लागि आवश्यक स्रोत व्यावस्थापनको लागि प्रदेश सरकार र जिल्लाका सबैपालिकासँग समन्वय गर्ने लैंगिक हिंसा व्यवस्थापन सल्लाहकार समितीका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले बताए ।
बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका उपाध्यक्षहरूको उपस्थिति थियो । सहभागीहरूले सेवा प्रवाहमा देखिएका चुनौतीहरू पहिचान गर्दै दिगो समाधानका उपायहरूमा गहिरो छलफल गरेका छन् ।
बैठकले केन्द्रको संस्थागत मजबुती, जनशक्ति व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चितता लगायतका तीन प्रमुख पक्षमा ध्यान दिँदै निर्णयहरू गरेका छन् ।
लैंगिक हिंसाको सामना गरिरहेका व्यक्तिहरूका लागि सेवा प्रवाहलाई प्रभावकारी र दिगो बनाउने उद्देश्यले ओखलढुंगामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) केन्द्रीत निर्णायक बैठक गरिएको ओसीएमसीका स्वास्थ्य संयोजक घनश्याम शर्माले बताए ।
२ जना केस म्यानेजर कार्यरत रहने र १ जना मानव स्रोत युएनएफपिए परियोजनाबाट परिचालन गरिने, जसमा खर्चको आधा रकम स्थानीय तहले व्यहोर्ने, सेवाको गुणस्तर बढाउन, केस म्यानेजरहरूको कार्यविवरण (टिओआर) पुनरावलोकन गरिने र कार्यदायित्व स्पष्ट पार्ने र दिगो वित्तीय व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र पालिकाहरूसँग स्रोत जुटाउन पहल गरिने निर्णय भएको छ ।
सेवा प्रवाहलाई मात्र नभई संस्थाको स्वामित्व र उत्तरदायित्व प्रणाली सुदृढ गर्ने दिशामा लाग्नु पर्ने, कर्मचारी सक्रियता, चलायमान र निरन्तरता दिने, दिगो व्यवस्था पनि यो बैठक एक महत्वपूर्ण कदम भएको युएनएफपिएका जिल्ला संयोजक रेखा श्रेष्ठले बताईन् ।
स्थानीय तह र सरोकारवाला निकायबीचको सहकार्यले लैंगिक हिंसा पीडितहरूलाई समुचित, समयमै र संवेदनशील सेवा दिन सकिने संयोजक श्रेष्ठको भनाई छ ।
ओसीएमसीले जिल्लामा विगत लामो समय देखि काम गर्दै आएको छ ।
प्रतिक्रिया