अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी ओखलढुंगाले भित्रे पात्रो विमोचन गरेको छ । नयाँ बर्ष २०८२ को अवसर पारेर (अनेरास्ववियु) ओखलढुंगाले पात्रो विमोचन गरेको हो ।
आइतबार एक कार्यक्रमका बिच नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कमल प्रसाद न्यौपाने र (अनेरास्ववियु) जिल्ला अध्यक्ष अर्जुन गिरीले संयुक्त रुपमा पात्रो विमोचन गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले विद्यार्थी संगठन भएर (अनेरास्ववियु) ले जिल्लामा सक्रिया र सिजनशीलताको उदाहरण पेश गरेको बताए ।
आगामी दिनमा थप सशक्त भएर अघि बढ्न उनले जिल्ला कमिटीलाई शुभकामना दिए । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने शिक्षा क्षेत्र र अन्य क्षेत्रमा देखिएका समस्या समाधानमा खबरदारी गर्न उनले निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा विशेष अतिथि नेकपा एमाले मानेभन्ज्याङ गाउँपालिका कमिटी अध्यक्ष रमिला मगरले विद्यार्थी संगठनबाट राजनीतिक संस्कार सिकेर नेतृत्व क्षमता विकास गर्न सहभागी विद्यार्थीहरुलाई आग्रह गरिन् । यस्तै (अनेरास्ववियु) केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज इन्दिरा खतिवडाले अनुशासन, सक्रियता र सिर्जनशीलता विद्यार्थीको गहना भएकाले नेतृत्व क्षमता विस्तार गर्न सुझाव दिइन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष गिरीले जिल्ला कमिटीका कामलाई नागरिकको घरघरसम्म पुर्याउन र (अनेरास्ववियु) लाई जिल्लामा आर्थिक रुपले पनि सबल बनाउन प्रयोजक, सहयोगी दाता जुटाएर पात्रो छपाईको काम गरिएको बताए ।

पात्रोको उपयोगीता अझै पनि धेरै रहेकोले सहयोगी दाता, पार्टीका नेता, जिल्ला कमिटीका पदाधिकारीलाई लिपीबद्ध गरिएको र (अनेरास्ववियु) ले जिल्लामा गरेका काम गतिविधि समेटेर पात्रो तयार पारिएको जानकारी गराएका थिए ।
जिल्लामा विद्यार्थी आन्दोलनलाई संयुक्त रुपले सशक्त बनाउन र जिल्लाका समस्यामा खबरदारी गर्न सबै विद्यार्थी संगठन एक भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।
पात्रो विमोचनसँगै नयाँ बर्ष २०८२ को अवसरमा शुभकामना अदान–प्रदान र चियापान कार्यक्रम समेत गरिएको (अनेरास्ववियु) जिल्ला कमिटी सचिव सुशील घिमिरेले जानकारी दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष न्यौपाने सहितका नेता, क्याम्पस तथा विद्यालयका शिक्षक, विभिन्न संगठनका पदाधिकारी, (अनेरास्ववियु) सहित विभिन्न विद्यार्थी संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्य लगायतको सहभागी भएका थिए ।
प्रतिक्रिया