अस्पतालमा बिमा सेवा अवरुद्ध हुँदा दिर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामी मर्कामा

अस्पतालमा बिमा सेवा अवरुद्ध हुँदा दिर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामी मर्कामा



ओखलढुंगा सामुदायिक अस्पतालले विमा वापतको रकम सरकार बाट नपाएको भन्दै सेवा बन्द गर्दा दिर्घरोगी र नियमित औषधि सेवन गर्ने बिरामी मर्कामा परेका छन् । अधिकांश स्वास्थ्य विमा गरेका दिर्घरोगी र नियमित औषधी सेवन गर्ने विरामीले विमा कार्डको प्रयोग गरेर औषधी उपचार सेवा लिईरहेका थिए ।

सँगै स्वास्थ्य विमा मार्फत अस्पतालमा औषधी उपचारका लागि आउने सेवा ग्राही समेत समस्यामा परेका छन् । विमा वापतको रकम विमा बोर्डले अस्पताललाई नपठाउदा करिब तीन महिना देखी सेवा प्रभावित भएको छ । बोर्डले अस्पताललाई तीन करोड ७२ लाख बढी रकम पठाउन बाँकी रहेको अस्पतालका निर्देशक डा. रोशन खरेलले बताए ।

स्वास्थ्य बिमा गर्दा तीन हजार ५०० लाग्यो अहिले उपचार र औषधीका लागि सबै पैसा तिर्नु पर्दा दोहोरो आर्थिक भार परेको सेवाग्राही एक नारायण श्रेष्ठले बताएका छन् । अस्पतालले विमा सेवा रोकेको थाहा नपाएका मोलुङ गाउँपालिका–१ कुन्तादेवीका चिन्तामणी ढकालले सास्ती भोगेका छन् । “विमा कार्ड मार्फत उपचार होला भनेर कम खर्च बोकेर घर बाट आईयो अस्पतालमा सबै पैसा तिर्नु पर्दा समस्या भयो,” ढकालले बताए ।

मोलुङ गाउँपालिकाकै यसोदा कोइराला वाग्लेलाई अस्पतालको सेवा महंगो भएको बताएकी छिन् । विमाले काम नगर्दा अस्तालमा सबै औषधी उपचारको रकम तिर्नु पर्दा महंगो महशुस भएको वाग्लेको भनाई छ ।

स्वास्थ्य विमा गरेका रक्तचाप, मधुमेह, मुटुको रोगी, दम, क्यान्सर लगायतका दिर्घरोगीले अस्पताल बाट सेवा लिदै आएका थिए । अस्पतालको तथ्याङ्क अनुसार ६५ प्रतिशत विमा गरेका सेवाग्राही उपचारका लागि आउने गरेका छन् । यो तथ्याङ्क अनुसार विमा सेवा अवरुद्ध हुँदा ६५ प्रतिशत सेवाग्राही मारमा परेका छन् ।

विमा सेवा अवरुद्ध भए पनि आर्थिक समस्या परेका सेवाग्राहीलाई अन्य फण्ड मार्फत सहयोग गरिएको अस्पताल निर्देशक डा. खरेलले बताए । आर्थिक अभावले विरामी उपचार नगरी फर्किनु पर्ने अवस्था नरहेको खरेलको भनाई छ ।

समस्या समाधानका लागि पहल भईरहेको राष्ट्रिय स्वास्थ्य विमा बोर्ड ओखलढुंगाका प्रमुख सुदिप कार्कीले बताए । चाढै समस्या समाधन हुने प्रमुख कार्कीले बताएका छन् । अस्पतालमा विमा सम्बन्धी समस्या समय समयमा देखिने गरेकाे छ ।